सप्तरी– सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलमा आज पुनःमतदान सुरु भएको छ ।
मतदान अधिकृत विपिन यादवलाई मतदानका क्रममा शुक्रबार अर्थात् वैशाख ३० गते स्थानीयवासीले कुटपिट गर्नुकासाथै मतपेटिका तोडफोड गरी मतपत्र च्यातेपछि स्थगित गरिएको निर्वाचन आज विहान ७ बजेबाट सुरु भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए।
अपाङ्गता भएको महिलाले रुचाएको चिह्नमा छाप लगाउन अह्राएकोभन्दा यादवले फरक चिह्नमा छाप लगाएको आरोपमा आक्रोशित समूहले उनलाई कुटपिट गरी मतपेटिका तोडफोड गरेपछि सर्वदलीय वैठकले मतदान स्थगित गरेको थियो ।
सोही बैठकको निर्णयअनुसार आज मतदान भइरहेको हो ।
घटनापछि डाक्नेश्वरी–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटै मतदान केन्द्रको निर्वाचन स्थगित गरिएको थियो । डाक्नेश्वरी नगरमा १० वडा छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १२:५२