न्युयोर्क– वैज्ञानिकहरूले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारेका छन् । यस विषयलाई चन्द्रमामा लामो समयसम्म बस्न सम्भव बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । अन्वेषकहरूले सन् १९६९ देखि सन् १९७२ मा एपोलो मिसननमा संकलन गरिएको धुलोको सानो नमूनामा एक प्रकारको बनस्पति उमारेका थिए ।
धेरै अचम्मको विषय दुई दिनपछि बीउ अंकुरित भएको थियो ।‘म तपाईलाई बताउन सक्दिन कि हामी कति अचम्मित थियौं’, फ्लोरिडा विश्वविद्यालयकी प्राध्यापक अन्ना(लिसा पलले भने ।
उनकाअनुसार चन्द्रमाबाट संकलित माटो र सामान्य माटोमा उमारिएका बिरुवाहरू झन्डै ६ दिनसम्म उस्तै देखिए । तर, ६ दिनपछि भने केही भिन्नता देखिएको थियो । त्यसपछि चन्द्रमाको माटोमा हुर्केका बिरुवाहरू ढिलो विकसित भए र साना देखिए ।
तर, अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले यसलाई ठूलो उपलब्धि भनेका छन् । ‘यो अनुसन्धान नासाको दीर्घकालीन मानव अन्वेषण लक्ष्यहरूको लागि महत्वपूर्ण छ किनकि हामीले चन्द्रमा र मंगल ग्रहमा पाइने स्रोतहरू प्रयोग गरी भविष्यमा अन्तरिक्षमा बस्ने र काम गर्ने अन्तरिक्ष यात्रीहरूका लागि खाद्य स्रोतहरू विकास गर्न आवश्यक छ’, नासा प्रमुख बिल नेल्सनले भने ।
अनुसन्धानकर्ताहरूको लागि यो एउटा चुनौती पनि हो । किनकी थप प्रयोगका लागि चन्द्रमाको माटो पर्याप्त छैन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १३:०७