चितवन– नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज मनाइँदै छ ।
विसं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा जिप दुर्घटना हुँदा उनीहरूको निधन भएको थियो ।
विगतका वर्षहरूमा ठूला कार्यक्रमसमेत हुने भएपनि यस वर्ष मतगणना भइरहेकाले जिल्लामा ठूला कार्यक्रमा राखिएको छैन । मदन भण्डारी फाउण्डेशन चितवनले श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेको छ ।
फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईका अनुसार सबै पालिकामा मतगणना भइरहेकाले फाउण्डेशनले श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरी श्रद्धासुमन व्यक्त गर्दैछ ।
फाउण्डेशन चितवनले दासढुङ्गा र गाँजीपुरलाई राजनीतिक तीर्थस्थलका रूपमा विकास गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन पहल गर्दै आइरहेको छ ।
जननेता भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई एमालेले अहिले पनि पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाउँदै आएको अध्यक्ष डा भट्टराईले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ ०९:५८