एजेन्सी– बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिज जेठ १४ गते दशरथ रंगशालामा हुने सलमान खानको ‘दबंग टुर रिलोडेड’ का लागि नेपाल नआउने भएकी छन् ।
पेज सिक्सका अनुसार उनले विदेश यात्राको अनुमति माग्दै अदालतमा दायर निवेदनलाई बुधबार फिर्ता लिएकी छन्।
मनी लाउन्ड्रिङ केसमा मुछिएकी उनले नेपाल, आबुधाबी र फ्रान्स यात्रामा जान अनुमतिका लागि दिल्ली अदालतमा निवेदन पेश गरेकी थिइन्। उनको केसको सुनुवाई भए पनि अदालतबाट केही आदेश नआएपछि उनले आफै निवेदन फिर्ता लिएकी हुन्।
आयोजकहरूले ज्याकलीनको तस्बिर राख्दै दबंग टुरको प्रचार गरिरहेका थिए। अब ज्याकलीनको ठाउँमा दक्षिण भारतीय अभिनेत्री पूजा हेगडे आउने बताइएको छ।
ठगी मुद्दामा पक्राउ परेका सुकेश चन्द्र शेखरसँग सम्बन्ध भएको भन्दै उनलाई प्रवर्तन निर्देशनालय ‘इडी ले देश छोडेर जान रोक लगाएको थियो। केही दिन अगाडि इडीले उनको ७ करोड २७ लाख भारतीय रुपैयाँको सम्पत्ति समेत जफत गरेको थियो।
भारतीय अखबार इन्डिया टुडेका अनुसार सुकेशले ज्याकलिनलाई ५ करोड ७१ लाखको उपहार दिएका थिए।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ ११:१७