स्याङ्जा– स्याङ्जामा तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका छन् । एघार पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका हुन् ।
पुतलीबजार नगरपालिकाको प्रमुखमा पुनः सीमाकुमारी क्षेत्री, अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा चीनमाया गुरुङ र कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा माया रानाले उम्मेदवारी दिएका थिए ।
नेकपा एमालेबाट पुतलीबजार नगर प्रमुखमा उम्मेदवारी दिएकी क्षेत्री यसअघि नगर प्रमुख थिइन् । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका तुलसीराम रेग्मीलाई पराजित गरेकी क्षेत्री अहिले रेग्मीबाटै पराजित भएकी छिन् ।
नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार भएकी रेग्मी १२ हजार ४९४ मत पाएर पुतलीबजारको नगर प्रमुखमा निर्वाचित भएकी हुन् भने पराजित भएकी क्षेत्रीले १० हजार ९० मत प्राप्त गरिन् ।
यस्तै, अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएकी गुरुङ नेपाली कांग्रेसका प्रकाश तिवारीसित पराजित भएकी हुन् । गाउँपालिकाको अध्यक्षमा विजयी तिवारीले ५ हजार २९१ मत ल्याउँदा उनकी प्रतिस्पर्धी गुरुङले ३ हजार ३४७ मत प्राप्त गरिन् । गुरुङ २०७४ मा गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी थिइन् ।
कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकातर्फबाट उम्मेदवारी दिएकी राना एमालेका उम्मेदवार खिमबहादुर थापासित पराजित भएकी छन् । अध्यक्षमा विजयी भउका थापाले ६ हजार ७०० मत प्राप्त गरेर विजयी हुँदा रानाले ५ हजार ५५ मत प्राप्त गरेर पराजित भइन् ।
२०७४ को निर्वाचनमा थापा गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए । यो उनको दोस्रो कार्यकाल हो । यसअघिको निर्वाचनमा स्याङ्जाको पुतलीबजार नगरपालिकामा क्षेत्रीमात्रै एकल महिला उम्मेदवार बनी विजयी भएपनि यसपटक क्षेत्री, गुरुङ र राना तीन जनाले उम्मेदवार दिएपछि तीनै जना पराजित भएका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ १७:०८