काठमाडौं – २४ मंसिर २०७८ मा कांग्रेस महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका अध्यक्षलाई लक्षित गर्दै भनेका थिए– ‘भर्खर भर्खरको बाच्छो हिड्न जान्दैन अलि बढि कुद्छ क्या’ ।
भर्खरै राप्रपाको महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङ्गदेन निर्वाचित भएर राप र तापका साथ अगाडी बढेका थिए । अध्यक्ष जितेका लिङ्देन उर्जाका साथ कांग्रेस महाधिवेशनमा शुभकामना दिन आएका थिए ।
शुभकामना दिन आएका लिङ्देनले मन्तव्यको क्रममा भने( ‘नेताप्रति जनताको विश्वास मरेको अवस्था छ, कुन चोर आएछ त्यहाँ भनेर सम्झन्छन्,’ लिङ्देनले भनेका थिए, ‘हाम्रो अवस्था यो छ, कहाँनेर त्रुटी रह्योरु हामी कहाँनेर चुक्यौ? यसतर्फ हाम्रो ध्यान जानुपर्छ।’ नेताहरुलाई चोर जनताले किन भने भनेर समिक्षा गर्नुपर्छ भन्ने उनको तर्क थियो । तर, उनको कुरा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मन परेन । महाधिवेशनमै प्रचण्डले कुनै एक नेता भनेर राजेन्द्र लिङ्देनको नाम लिन चाहेनन् ।
माओवादी अध्यक्ष प्रचण्डलाई लिङ्देनको भनाईले च्वास्स बिझायो । त्यसपछि प्रचण्डले शुभकामना मन्तव्यका क्रममा राप्रपा अध्यक्षले बोलेको अभिव्यक्तिलाई लक्षित गर्दै हामी चोर हो त भनेर जनसभामा प्रश्न गरे । जनमानसले ‘हो हो’ भने त्यसपछि उनले कुरा मोडे । प्रचण्डपछि बोल्ने पालो आयो एमाले अध्यक्ष केपी शर्मा ओलीको ।
ओलीको मनमा पनि राप्रपाका अध्यक्ष लिङ्देनको कुराले भित्रैसम्म बिझेछ । ओलीले लिङ्देनलाई कटाक्ष गर्दै ‘बाच्छो’ सँग तुलना गर्न भ्याइहाले । ओलीको भनाई मनमा लिएका लिङ्देनले पाँच महिनापछि गठबन्धनमा चुनावमा जाने निर्णयमा पुग् । पाँच महिनापछि त्यही भर्खर जन्मेको ‘बाच्छो’ ले आफ्नै गृह जिल्ला झापामा लात्ती हान्दा केपी शर्मा ओलीको पार्टी पछारिन पुग्यो । जसले केही हदसम्म लिङ्देनलाई सन्तुष्टि मिल्यो । लिङ्देन जसरी पनि एमाले अध्यक्ष ओलीलाई बाच्छोको तागत देखाउन चाहन्थे ।
सोही अनुसार नै ३० वैशाख २०७९ मा भएको स्थानीय तहको चुनावमा लिङ्देनले एमाले अध्यक्ष ओली हराउने गरी झापाको दमक नगरपालिकामा ६ दलीय गठबन्धन बनाए । गठन्धनकै बलमा झापामा एमालेलाई राप्रपाले पछार्यो । एमाले उम्मेदवार गीता अधिकारीलाई ९८९ मतले पराजित गर्दै दमक नगरपालिकाको मेयरमा राप्रपाका राम थापा विजयी भए । थापाले १७ हजार ९२५ मत ल्याए। पराजित एमालेकी गीताले १६ हजार ९३६ मत ल्याइन् ।
त्यसैगरी उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसकी रेगिना भट्टराई १७ हजार ७२ मतसहित विजयी भइन । पराजित एमालेका अम्बिकाप्रसाद खनालले १६ हजार ५७४ मत पाए ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९ १२:५९