काठमाडौं- स्थानीय तहको निर्वाचनमा खोटाङका माझी समुदायबाट एकजना मात्र जनप्रतिनिधि चुनिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये रावाबेँसी गाउँपालिका–३ लामीडाँडा माझीगाउँका सोमबहादुर माझी वडासदस्यमा निर्वाचित भएका हुन् ।
३७ वर्षीय माझीले कांग्रेसकातर्फबाट ७०२ मत ल्याएर वडासदस्य जितेका हुन् । पाँच वर्ष साउदीअरब बसेर दुई वर्षअघि गाउँ फर्किएका माझीले गाउँको सेवा गर्नका लागि जनप्रतिनिधि बनेको बताए ।
विगतमा कांग्रेसमा आस्था राख्दै आएका माझीले दुई वर्षअघि मात्र क्रियाशिल सदस्यता लिएका हुन् । उनले भने, ‘पाँच वर्ष विदेशमा बसेँ । अब विदेश जान्न यही ठाउँको सेवा गर्छु ।’
पछि परेको समुदायको उत्थानमा समय खर्च उनको भनाइ छ । लामीडाँडामा कांग्रेसका चार वडासदस्य निर्वाचित हुँदा वडाध्यक्षमा भने एमालेका बीरेन्द्र मगर निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा लामीडाँडामा कांग्रेसबाट सोमबहादुर माझी नामको अर्कै उम्मेदवार वडासदस्यमा निर्वाचित भएका थिए ।
यस्तै दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भँडारेघाटका ज्ञानबहादुर माझी कार्यपालिका सदस्यमा मनोनित भएका थिए । यसपटक भने सोमबहादुर माझी समुदायबाट एक्लो जनप्रतिनिधि बनेका छन् ।
जिल्लाको लामीडाँडा रभुँवा, घोपाटार, जयराम, भँडारेघाट, सानोभँडारे, रसुवाघाट, गोडुलीघाटलगायतका सुनकोसी र दुधकोसी किनारमा डुंगा चलाउने र माछा मार्ने पुर्खौली पेसा भएका माझी समुदायले राज्यबाट अवसर नपाएको गुनासो गर्दै आएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९ १३:५८