काठमाडौं– सप्तरीमा डा।सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार दुई पालिकामा निर्वाचित भएका छन् । सप्तरीको बलान–बिहुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका हुन् ।
जनमत पार्टीबाट खेमचन्द्र यादवले कांग्रेसका नविन कुमार झालाई ७४७ मतान्तरले पराजित गर्दै पालिका अध्यक्षमा निर्वाचित भए । यादवले २ हजार ९९४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका झाले २ हजार २४७ मत प्राप्त गरेका छन् ।
तेस्रो नम्बरमा रहेको जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार दयानन्द गोइतले २ हजार २०३ मत ल्याएका छन् । यस्तै गाउँपालिका उपाध्यक्षमा जनमत पार्टीकै रेणु यादव २ हजार ६९० मत ल्याएर विजयी निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी आशा देवीले २ हजार ३०४ मत प्राप्त गरेकी छन् ।
तेस्रो नम्बमा रहेकी जसपाकी वविता कुमारी मण्डलले २ हजार ९४ मत ल्याएकी छन् । योसँगै जनमत पार्टीले तराई–मधेसमा दुई पालिका प्रमुख र एक पालिका उपप्रमुख जितेको छ ।
यसअघि सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुखमा जनमत पार्टीकै वीरेन्द्र माझी निर्वाचित भएका थिए ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९ १७:२१