अमरगढी– सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन अवस्थामा रहेका हुन् ।
सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहु“दा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको उद्योग वाणिज्य संघ डडेल्धुराका महासचिव खेमराज अवस्थीले जानकारी दिए । सुदूरपश्चिमका विमानस्थलमध्ये कैलालीको धनगढी, अछामको सा“फेबगर र बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छन् ।
दार्चुलाको गोकुलेश्वर, तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायल, अछमको कमलबजार, बझाङको चैनपुर, बैतडीको पाटन, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल बन्द अवस्थामा छन् । सञ्चालनमा रहेको विमानस्थलमा हवाई सेवा नियमित हुने सकेकोे छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले बन्द विमानस्थल अवतरणका लागि योग्य भए पनि नेपाल वायु सेवा नीगमले सेवा नदिएपछि अन्य विमान कम्पनीले पनि जहाज नउडाएको जनाइएको छ । सुदूरपश्चिमका विभिन्न विमानस्थल सञ्चालनका लागि तत्कालीन मन्त्री लोकेन्द्र विष्टमगरले परीक्षण उडान शुरु गरेपनि हालसम्म उडान हुन सकेका छैनन् । सुदूरपश्चिमको क्षेत्रीय विमानस्थल पुनः सञ्चालन गर्न तत्कालीन क्षेत्रीय प्रशासक आत्माराम पाण्डेले पहल गरेपनि हालसम्म कार्यान्वयन भएको छैन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिपायल विमानस्थल र सुदूरपश्चिमका सबै विमानस्थललाई बाह्रै महीना सञ्चालनमा ल्याउने योजनामा प्रदेश सरकार लागि रहेको बताए । सुदूरपश्चिममा सहज हवाई यातायात सुविधा नहु“दा पर्यटन क्षेत्रको विकास हुन नसकेको पर्यटन पत्रकार संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अमर भट्टराईले बताए । रासस
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६ ०५:५८