काठमाडौं– डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरुका लागि छुट्टै विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ । स्कुल फर स्पेसल नाउँ दिईएको यो परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गरिनेछ भने डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र बृद्धिका लागि विशेष सहयोग समेत गरिनेछ ।
आगामी आषाढ ४ अर्थात जुन १८, २०२२ को शनिवार पाँच तारे होटल, दि मल्ल होटलमा एक विशेष कार्निभल आयोजना गरिने भएको हो । ”जुन वियर कार्निभल”को नाउँमा आयोजना हुने यो कार्यक्रम वियर फेष्टिभल र पारीवारीक कार्निभलको संयुक्त रुप हुनेछ ।
यस कार्निभलको आयोजनाको लागि निःशुल्क रुपमा होटल उपलब्ध गराएर दि होटल मल्ल स्कुल फर स्पेसल परियोजनामा सहकार्यको हात बढाएको हो । दि मल्ल होटलकी एशोसिएट डाईरेक्टर अनुस्का मल्लले राउण्ड टेबल नेपालको यस योजनामा सहभागि हुन पाउँदा आफू हर्षित भएको बताउँदै यस कार्यक्रमको सफलताका लागि सबैखाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
डाउन सिन्ड्रोम तथा अटिजम प्रति जनचेतना अभिबृद्धि गर्दै यस्ता फरक क्षमता भएका बालबालिकाहरुको शिक्षा तथा बैयक्तिक विकासमा सहयोगि बन्ने अभिप्रायका साथ राउण्ड टेबलले यूवा लक्षित कार्यक्रमको आयोजना गर्ने भएको हो । यस कार्यक्रमबाट भएको आम्दानिको शत्प्रतिशत रकम डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाको शिक्षामा खर्च गरिने आयोजक संस्थाका शरद केडियाले बताएका छन् ।
डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाको शिक्षा र मनोरञ्जनका लागि काम गर्ने हाम्रो योजनाको बृहत्तर योजनाको यो पहिलो पाईला भएको बताउँदै अध्यक्ष्य केडियाले थप विभिन्न कार्यक्रमहरु भविष्यमा गरिने योजना रहेको समेत बताए ।
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९ ११:३८