काठमाडौं– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । मुल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनीसमेत अखिल क्रान्तिकारीले दिएको छ।
अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले सोमबार विज्ञप्ति जारी गर्दै आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, मनलाग्दी कर्मचारी भर्ना , खरिद बिक्रीमा हुने ठूला अनियमितता र बेथितिको अन्त्य गर्नुको साटो मुल्य समायोजनको नाउमा मुल्यवृद्धि मात्र गर्नु अस्विकार्य हुने बताएकी छिन् ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरिरहेको मुल्यबृद्धिले नेपाली जनजिवनमा सृजना गरेको कठिन परिस्थिति प्रतिसंगठन गम्भिर भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । दैनिक जनजिवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोलियम पदार्थमा निरन्तर मुल्यवृद्धिले जनताको ढाड सेक्ने काम भएको संगठनको भनाइ छ ।
पेट्रोल ग्याँस लगायतका बस्तुमा गरिएको मुल्यवृद्धि तत्काल खारेज गर्न संगठनले माग गरेको छ । सरकारले आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो । यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो ।