काठमाडौं– अभिनेता,निर्माता बिक्रम डि जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गरेका छन् । जोशीले हेल्प नेपाल नेटवर्कले धुलीखेलमा संचालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना साथीहरुका साथमा गत शुक्रबार बिहान लण्डन ब्रिजबाट ‘लण्डन टु पेरिस च्यारिटी राइड’ सुरु गरेका थिए । उनीहरुले आइतबार यात्रा पूरा गरेका हुन् ।
साइकल यात्रा टिममा जोशीसहित शुलभ पन्त,सुशील प्रसाईं,मनोज श्रेष्ठ,प्रसिद्ध प्रधान,सुनील कार्की र लक्ष्मण गुरुङ छन् । लण्डन ब्रिजबाट पेरिसको इफेल टावर पुगेको सो टोलीले लक्षित भन्दा धेरै सहयोग रकम जुटाएको छ । ‘हामीले कम्तीमा ५ हजार पाउन्ड संकलन गर्ने टार्गेट गरेका थियौं ।
तर हामीलाई ६ हजार पाउन्ड सहयोग जुटेको छ,’ जोशीले भने, ‘हाम्रो यात्राको उद्धेश्य थाह पाएपछि मान्छेहरु स्वस्र्फुत रुपमा सहयोग गर्न तयार भए । हामीलाई त्यसअबधिमा ११० जनाले रकम सहयोग गरेका छन् ।’
आफुहरुले संकलन गरेको रकम छिट्टै नै चिल्ड्रेन्स् होमलाई हस्तान्तरण गर्ने जानकारी उनले दिइका छन् । सन् २०१४ देखि संचालीत उक्त अनाथालयमा हाल २३ बालिका आश्रीत छन् ।
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९ १४:४२