काठमाडौं– नयाँ शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको हो । पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन । पाठ्यक्रम यथावत भएका अन्य कक्षाका विद्यार्थीले पुराना पुस्तक पढ्ने गरेका छन् ।
बेनी नगरपालिका–८ कालीपुलको बालमन्दिर आधारभूत विद्यालयको कक्षा ७ का विद्यार्थी सुरेन्द्र परियारले पुस्तक नहुँदा शिक्षकलाई पढाउन, आफूहरूलाई बुझ्न र गृहकार्य गर्न समस्या भएको बताए। “किताब नहुँदा अप्ठ्यारो भएको छ”, बालमन्दिर आधारभूतको कक्षा ७ की विद्यार्थी पुष्पा केसीले भनिन्, “सर, मिसले पढाएको बुझ्न र दिएको गृहकार्य गर्न समस्या भएको छ ।” कक्षा ४ र ७ को पाठ्यक्रम यस वर्षदेखि परिवर्तन भएको छ ।
पाठ्यक्रम नफेरिएका कक्षाका विद्यार्थीलाई पुराना पुस्तक उपलब्ध गराइएको छ । उपल्लो कक्षामा गएका विद्यार्थीलाई यसअघि उनीहरूले प्रयोग गरेको पुस्तक फिर्ता मागेर उपलब्ध गराएका हुन् । गाता नभएका, केरमेट भएका र च्यातिएका पुराना पुस्तक पढ्न असजिलो भएको विद्यार्थीको गुनासो रहेको छ ।
नयाँ पुस्तक नआउँदा पढाउन समस्या भएको बालमन्दिर आधारभूत विद्यालयका शिक्षिक गीता सुवेदी बताउछिन् । “पाठ्यक्रम यथावत रहेको कक्षामा पुराना पुस्तक वितरण गरेर काम चलाएका उनले बताए ।
दुई सय ३२ सामुदायिक विद्यालय भएको म्याग्दीमा एउटा कक्षाका लागि एक हजार ७०० देखि दुई हजार सेट पुस्तक आवश्यक पर्छ । पुस्तक खरिदका लागि म्याग्दीमा वार्षिक रु एक करोड १२ लाखभन्दा बढी बजेट खर्च हुन्छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष लीलाराम गौतमले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कागज अभावको कारण देखाएर पुस्तक छाप्न ढिलाइ गरेको जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ १०:३८