काठमाडाैं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले मंगलबार संसद्मा पेस गरेको नीति तथा कार्यक्रम इतिहासकै फितलो र कमजोर भएको टिप्पणी गरेको छ ।
संसद् परिसरमा प्रतिक्रिया दिँदै एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नीति तथा कार्यक्रम इतिहासकै सबैभन्दा कमजोर र फितलो भएको बताए ।
उनले नीति तथा कार्यक्रम पेस हुँदा एउटा पनि ताली नबजेको भन्दै कार्यक्रममा जे कुरा समेटिनुपर्ने थियो त्यो नसमेटिएको बताए । ‘जे हुनुपथ्र्यो भएन । देश आर्थिक, कूटनीतिक हिसाबले अप्ठ्यारोमा छ । तर, हामी अप्ठ्यारोमा छौं यसरी अघि बढ्छौं भन्ने कार्यक्रममा केही छैन,’ ज्ञवालीले भने ।
त्यस्तै, एमाले सचिव योगेश भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रममा नयाँ कुनै कुरा नभएको बताए । उनले यो नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पूरा नगर्ने उनको टिप्पणी छ । ‘समस्या सम्बोधन गर्ने कुनै विकल्प आएका छैनन् । आउने वर्ष डरलाग्दो आर्थिक संकट हामीले सामना गर्नुपर्ने हुन्छ ।
मुलुक त्यतातिर जाँदै छ । यो नीति तथा कार्यक्रम समयको बर्बादी मात्र हो । यो सरकार जति समय रहन्छ त्यो पनि समयको बर्बादी हो,’ भट्टराईले भने, ‘देशबासीहरूलाई अपिल गर्ने कुनै त्यस्तो योजना नीति कार्यक्रममा छैन । उत्साह दिएको छैन । उद्देश्यविहीन, गन्तव्यविहीन छ ।’
एमालेका अर्का सांसद गोकुल बाँस्कोटाले सरकारको नीति तथा कार्यक्रममा कुनै नवीनता नभएकाले उत्साहजनक हुन नसकेको टिप्पणी गरे । ‘नीति तथा कार्यक्रम उत्साहजनक छैन । निरन्तरता छ, नवीनता छैन । एमाले नेतृत्वको सरकारले पेस गरेका कार्यक्रमभन्दा कुनै फरक छैन,’ बाँस्कोटाले भने ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ १०:५६