इलाम– इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको हो ।
सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिसलगायत दैनिक कार्य प्रभावित भएको हो । बैंक, वित्तीय संस्था, एफएमलगायतका सञ्चार संस्थाको सेवा बन्द छ । विद्युत् अनियमितताले अन्य अनलाइनमार्फत हुने काम प्रभावित भएको बताइएको छ ।
सोमबार बिहानदेखि बन्द विद्युत् आपूर्ति मङ्गलबार पनि सहज हुन सकेन् । नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले विद्युत् आपूर्ति बन्दको कारण हालसम्म पत्ता लगाउन सकेको छैन । केन्द्रका प्रमुख बेगराज पौडेलले हालसम्म ‘फल्ट’ पत्ता लाग्न नसकेको जानकारी दिए। उनले इलाम सबस्टेशनबाट सदरमुकाममा वितरण गरिएको मुख्य लाइनमा समस्या रहेको हुनसक्ने बताए।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ ११:१५