नेपालगञ्ज -
हाम्रो कर्णाली दैनिक कालिकोटका कार्यकारी सम्पादक रमेश रावलले २०७१ असार १२ गतेको अँकमा नागरिकता बितरणमा त्रुटी भएको बिषयमा नागरिकता बितरणमा प्रशासनको लापरवाही शिर्षकको समाचार लेखे । उनले लेखेको समाचारमा आधिकारिक व्यक्तिको प्रतिक्रिया नलिएको बाहेक अरु कुनै गल्ति थिएन ।
समाचार चित्त बुझ्दो नभए, झुठ्ठा भए खण्डन गर्ने, खण्डन प्रकाशन नगरे वा खण्डनले चित्त नबुझे कानुनी कार्वाही तर्फ जानु पर्नेमा स्वयं यस्ता गुनासोहरु सुन्नु पर्ने आधिकारिक व्यक्ति कालिकोटका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौरीले नैं कानुनी बाटो अवलम्बन गरेनन् । उनले आफ्नै कार्यकक्षमा बोलाई पत्रिका खारेज गरिदिने धम्कि दिए । स्वयं प्रमुख जिल्ला अधिकारीनैं यो शैलीमा ओलिएपछि अन्य सरकारी कार्यालयका प्रमुखहरुले पनि सोही बाटो अवलम्बन गर्नेनैं भए । सक्रिय पत्रकारको रुपमा क्रियाशिल खड्काले बिभिन्न कार्यालयका कमि, कमजोरीका बिषयमा केन्द्रित भएर लेखेका समाचारका बारेमा उनलाई सरकारी कार्यालय प्रमुखहरुले धम्याउन थाले । यसरी निरन्तरको धम्याईपछि असुरक्षित महसुस गर्दै रावल जिल्ला छाड्न बाध्य भए । रावल काठमाण्डौंमा बिस्थापित छन् —भर्खरै जिल्ला पूगेर समस्या समाधान गरि फर्किएका नेपाल पत्रकार महासँघका केन्द्रिय सदस्य तथा मध्यपश्चिम संयोजक झलक गैर भन्छन्–सबै सरोकारवालासँग पत्रकार आचारसंहिताका बिषयमा छलफल गरेर रावललाई पुर्नस्थापित गर्ने लगाएतका बिषयमा साझा सहमति गर्न सफल भएका छौं ।
यो एउटा प्रनिधिमूलक घटनामात्र हो, यस्ता घटना मध्यपश्चिममा दिनहुँ घटिरहेका छन् । पत्रकार आचारसंहिताको उलँघन पत्रकारहरुबाट भईरहेकोछ, तर पिडित भएको भनिएकाहरु कानुनी बाटो अवलम्बन गर्दैन । आफ्ना बिरुद्ध समाचार छापिए चित्त नबुझे खण्डन गर्ने र सो पनि नभए कानुनी उपचार खोज्दै प्रेश काउन्सील, जिल्ला प्रशासन, अदालत जाने गरेका घटनाहरु एकदमै बिरलै छन् । मध्यपश्चिममा समाचार लेख्ने पत्रकारलाई धम्क्याउने, मिलेर जाने र शरण पर्ने तीनवटा प्रबृत्ति बढी देखिन्छ । महासँघको केन्द्रिय सदस्य निर्बाचित भए पश्चात मध्यपश्चिमका १० जिल्ला पुगिसकेका गैरे भन्छन्–पत्रकारहरुमा सच्चिने तत्परता देखिदैन, सरोकारवालाहरुमा पनि सच्याउने भन्दा प्रतिशोध साँध्ने शैली हाबी भएको पाईन्छ । उसो त प्रेस काउन्सीलमा १० बर्षमा परेका उजुरीकै आँकडा हेर्ने हो भने उजुरीको सँख्या एकदम न्यून छ । जस अनुसार चरित्र हत्या ः ७१ (३४.४६ प्रतिशत) आचारसंहिता उलंघन ः ६४ (३१.०६ प्रतिशत) मानहानी ः २१ (१०.९४ प्रतिशत) गाली बेइज्जती ः १४ (६.९९ प्रतिशत) भ्रष्टाचार ः १२ (५.८२ प्रतिशत) बेइज्जत, चरित्रहत्या, मानहानी र अन्य ः २४ (१०.६३ प्रतिशत) मात्रै रहेकोछ । महासँघकै तथ्याँक हेर्ने हो भने मध्यपश्चिममा १५ सय बढि महासँघकै सदस्य छन् भने त्यो बाहेकका पत्रकारहरुको सँख्या करिब १५ सय छ, यसरी हेर्दा करिब ३ हजार पत्रकार मध्यपश्चिममा कार्यरत रहेको अनुमान गर्न सकिन्छ । यति ठुलो सँख्यामा रहेका सबै पत्रकारहरु आचारसंहिताका बारेमा जानकार छैनन् । जानकार भएकाहरु पनि आचारसंहिता पालना तर्फ सचेत छैनन् । आचारसंहिता उलँघन गर्नेहरु बिरुद्ध कार्वाही गर्न, गराउन तर्फ अग्रसरताको अभाब छ ।
पत्रिकाले ठुलो शिर्षकमा समाचार दिन्छ, समाचारसँग जोडिएकाहरु सो को बिरोध गर्न तम्सिन्छन् तर खण्डन गर्दैनन् न त कुनै कानुनी प्रक्रिया अवलम्बन गर्दछन् । बर्दियाबाट प्रकाशित हुने एक साप्ताहिकका सम्पादक भन्छन्–पछि सो बारे पत्रिका पनि मौन बस्छ, बिरोध गर्नेहरु पनि मौन बस्छन् । उनी थप्छन्–यसको अर्थ दुईपक्ष बिच सम्झौतामा बिबाद टुँगिनु हो, कि पत्रिकाको समाचार गलत हुनु पर्यो कि बिरोध गर्नेहरु गलत हुुनु प¥यो, दुबै गलत, दुबै ठिक कसरी हुन सक्छ ? उनको बुझाईछ —यो पत्रकारिताको डरलाग्दो प्रबृत्ति हो । उनको बुझाई जस्तै स्वयं नेपाल पत्रकार महासँघका जिल्ला शाखाहरुले यस्ता बिबाद सम्झौतामा टुँग्याउँने गरेको पाईन्छ, समाचार सत्य हुँदा, हुँदै पनि पत्रकारका पनि केही, कमजोरी हुँदा महासँघ सम्झौतामूखि हुनु परेको महासँघ सम्बद्धहरुको बुझाई छ । उसो त कतिपय सचेत पाठक तथा समाचारका पिडितहरुले खण्डनको बाटो अबलम्बन गर्दा सास्ति भोग्नु परेको अवस्था पनि छ, जुन पत्रिकामा समाचार प्रकाशन भयो, चित्त नबुझे सप्रमाण तर्कबद्ध ढँगले सोही पत्रिकामा खण्डन दिनु पर्दछ र सो खण्डन प्रकाशन गरिनु पर्दछ, यो पत्रकारिताको मूल्य, मान्यता र आचारसंहिता भित्रको कुरा हो तर कतिपय पत्रिकाहरुले त्यस्ता खण्डनहरुलाई स्थान नदिएको पाईन्छ । यसरी खण्डन सम्बन्धित पत्रिकामा प्रकाशन नभएपछि पिडितहरु अन्य पत्रपत्रिका गुहार्ने गरेको पाईन्छ तर अन्य पत्रिकाहरुले अर्काे पत्रिकाको खण्डन खण्डनको रुपमा नभनि खण्डनलाई बिज्ञापनको रुप दिई प्रेश बिज्ञप्तीका नाममा प्रकाशन गरेको पाईन्छ । जसबाट पिडीत थप आर्थिक रुपमा पिडीत भएको पाईन्छ भने पत्रपत्रिकाका बिचमा मनमुटाबको बाताबरण पनि सृजना गरिदिन्छ । यो राम्रो संस्कार होईन–नेपाल पत्रकार महासँघका केन्द्रिय सदस्य तथा मध्यपश्चिम संयोजक झलक गैर भन्छन्–तर पिडितले सफाई दिन चाहीँ पाउनु पर्दछ । अर्काे तर्फ खण्डनका नाममा कमी, कमजोरीहरु ढाकछोप गर्न सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई तथानाम गाली, गलौच गरि खण्डन लेख्नेहरुको पनि कमि छैन ।
बढी पत्रकारहरु भएको मध्यपश्चिमका केही जिल्लाहरु मध्येको एक दाँगमा भने खण्डन गर्ने सँस्कार अलि बढी छ, महासँघ दाँगका अध्यक्ष सुदिप गौतम भन्छन्–खण्डन गर्ने र प्रकाशन, प्रशारण गर्ने चेतना हाम्रो जिल्लामा अलि बढि भएको हामी पाउँछौं । उनी थप्छन् — तर खण्डन गर्ने भन्दा समाचार सत्य नलागे पत्रकार सम्मेलन गर्ने प्रचलन दाँगमा बढी छ । उनका अनुसार, सप्रमाण सहित कुनै समाचारको बिषयलाई लिएर पत्रकार सम्मेलन गर्न थालिएको छ भने पत्रकारहरुको सहभागिता पनि त्यस्ता सम्मेलनहरुमा राम्रै हुने गरेको छ । त्यस्ता सम्मेलनहरुमा स्वयं समाचार लेख्ने पत्रकार पनि सहभागि हुने गरेको गौतमले बताए । सम्मेलनका आयोजकले पत्रपत्रिकामा प्रकाशित समाचार लेख्ने पत्रकार भन्दा समाचार दिने व्यक्ति र श्रोत प्रति बढी आक्रोशित भएको पाईन्छ । गौतम भन्छन्–पत्रकार सम्मेलनको समाचार सबै सञ्चार माध्यमले प्रकाशन, प्रशारण गर्दछन् तर पत्रकार सम्मेलन किन आयोजना गर्नु प¥यो भन्ने बिषयमा समाचार बोलेको पाईँदैन । स्वयं समाचार लेख्ने पत्रकारले पनि पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको बिषयका बारेमा समाचार प्रकाशन गर्दछ तर आपूmले लेखेको समाचार गलत भएको, सच्चाईएको, गल्ति स्वीकार गरेको वा माफी मागेको भनेर कुनै सामाग्री प्रकाशन गरेको देखिदैन । गौतमले भने–दाँगमा हाल सम्म औपचारिक रुपमा आचारसंहिता उलँघनका घटना घटेका छैनन् । यता सुर्खेतमा भने गएको ६ महिनामा ३ वटा उलँघनका घटना घटेको भन्दै निबेदन महासँघमा दर्ता भएको सुर्खेत शाखा अध्यक्ष गणेश कञ्चन भारती बताउँछन् । उनका अनुसार नभएको कुरा लेखियो भन्दै महासँघमा उजुरी पर्ने गरेका छन्, महासँघले त्यस्ता उजुरीहरुका बिषयमा छानबिन गरि समस्या समाधान गरिरहेको छ । उनले पत्रकार आचारसंहिताको पालनामा जोड दिनका लागि सुर्खेतका सबै सञ्चार गृहका कार्यालयहरुमा आचारसंहिता उल्लेखित बोर्ड राख्न थालिएको जनाए । बाँके र बर्दियामा केही सञ्चारकर्मीहरुले मोटरशाईकिल लगाएतका सवारी साधनहरुमा स्थायी रुपमा प्रेश, पत्रकार लेख्ने गरेका छन् भने केहीले प्रेश लेखिएका ज्याकेट तथा परिचयत्रपत्रको दुरुपयोग गर्दै आएका घटनाहरु पनि सार्वजनिक हुँदै आएका छन् । गैर पत्रकारहरुले पत्रकारिताको पगडी गुथ्ने, केही पत्रकारहरुले महिनावारी संकलन गर्ने कारणले राम्रा पत्रकारहरु र पत्रकारिता जगतनैं बदनाम हुने गरेको रोल्पामा कार्यरत एक महिला पत्रकारले बताईन् । एक पटक पत्रकार महासँघको सदस्य लिए उसले पत्रकारिता गरेपनि नगरेपनि उ महासंघको सदस्य रहिरहने कारणले पनि समस्या उत्पन्न भएको छ । खराब प्रबृत्तिका व्यक्तिहरुले त्यहि महासँघको सदस्यता भजाउने गरेका छन् । मध्यपश्चिमका बिभिन्न जिल्लाहरु मध्ये केही जिल्लाले निष्क्रिय सदस्यहरुको सदस्यता खारेज गरेपनि धेरै जिल्लामा भने गैर पत्रकार र निष्क्रिय सदस्यहरुको सदस्यता कायम छ । रुकुमका पत्रकार राजु लामिछानेको बुझाईमा पत्रकार आचार संहिताको उलँघन गैर पत्रकारहरुबाट बढी हुने गर्दछ । गैर पत्रकारहरुनैं अनुचति फाईदा लिन तर्फ लालयित भएको पाईन्छ । उनी भन्छन्–पहाडी जिल्लामा पत्रकारिताका नाममा धेरैले ठेकेदार, कार्यालय प्रमुख र तस्करहरुबाट बर्षेनि ठुलो रकम बार्गेनिँग गरेर असुल्छन् । कम पत्रकार भएको जिल्ला मध्येको एक मुगुमा कार्यरत पत्रकार गोकर्ण शाही भने मुगुमा आचारसंहिता अक्षरशः पालना भईरहेको बताउँछन् । उनी भन्छन्–सानो संख्यामा पत्रकारहरु रहँदा कसले के गर्यो भन्ने कुरा तत्काल थाहा भईहाल्ने कारणले पनि आचारसंहिता उलँघन नभएको हुन सक्छ । अभाब आचारसंहिता पालनाको मात्र होईन, मुल्य, मान्यता सहितको मर्यादित पत्रकारिताको पनि अभाब छ पत्रकारितामा । रिस साँध्न र प्रतिशोध लिन पत्रकारिता गर्ने, पत्रकारिताका नाममा तडक, भडक गर्ने पत्रकारहरुको बिग, बिगिका कारण मर्यादित पत्रकारिता औपचारिकतामा मात्र सिमित छ । नेपाल पत्रकार महासँघका पूर्ब केन्द्रिय सदस्य जनक नेपाल मर्यादित पत्रकारिताका लागि साझा प्रतिबद्धताको खाँचो भएको बताउँछन् । मर्यादित पत्रकारिताको अभाब र खण्डन वा कार्वाहीका लागि प्रकृयामा नजाने पाठक तथा सरोकारवालाका कारण पत्रकारहरु आक्रमणमा पर्ने गरेको उनको बुझाई छ । बिबिध समस्याका बाबजुत मध्यपश्चिमको पत्रकारिता सम्भावना तर्फ अग्रसर छ । सञ्चार माध्यमका बिरुद्धमा चिया, भट्टि पसल र चौकमा हुने गफको क्रम घटेकोछ । पत्रकारिताको पुरानो धँग–धँगि घट्दै गएकोछ । नयाँ क्षमतावान पुस्तामा पत्रकारिता पुस्तान्तरण हुँदैछ, सञ्चार माध्यमहरुको बढोत्तरीसँगै आधुनिकता र अबसर तर्फ पत्रकारिता अग्रसित हुँदैछ । यि बिभिन्न सम्भावनाहरुले खतरा र समस्यालाई बिस्तारै ओझेल पार्ने निश्चित छ ।