काठमाडौं– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का कार्य बन्द गरेको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट एकाधबाहेक सबै पालिकाको मत परिणाम प्राप्त भइसकेकाले सो केन्द्रका कार्यहरु बन्द गरिएको हो ।
निर्वाचन आचारसंहिता तथा अन्य गतिविधि सूक्ष्मरुपले अनुगमन तथा मूल्याङ्कन गर्न आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा गठित केन्द्रमा गृह र रक्षा मन्त्रालयका साथै सुरक्षा निकायका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतको प्रतिनिधित्व थियो ।
आयोगको कान्तिपथस्थित कार्यालयमा खडा गरिएको केन्द्रको सचिवालयमा आज आयोजित समीक्षा बैठकमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रमा रहेका प्रतिनिधि र कर्मचारीले महत्वपूर्ण कार्य गरेकामा प्रशंसा गरे। आयोगका सचिव गोकर्णमणि दुवाडीले केन्द्रले दिने प्रतिवेदन र सुझावका आधारमा आगामी निर्वाचनमा थप प्रभावकारीरुपमा काम गर्न सकिने बताए। गत वैशाख १० गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो केन्द्र शुभारम्भ गरेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र अन्य निकायले पेश गरेको समस्या समाधान गर्न आवश्यक व्यवस्था मिलाउने र निर्वाचन सुरक्षा तथा निर्वाचन हिंसाका घटना तथा परिघटना सङ्कलन एवं विश्लेषण, रोकथाम र समाधान गर्न उपयुक्त कदम चाल्न आयोगका साथै सम्बन्धित निकायमा सुझाव पेश गर्ने जिम्मेवारी उक्त केन्द्रले पाएको थियो ।
निर्वाचन व्यवस्थापनसम्बन्धी सूचना सङ्कलन, प्रशोधन र विश्लेषण अद्यावधिक गर्ने तथा दैनिक प्रतिवेदनसम्बन्धी काम केन्द्रले गरेको थियो । केन्द्रमा काजमा रहेका अधिकारी र कर्मचारीलाई यही जेठ १६ गतेदेखि लागू हुने गरी काज फिर्ता गरिएको आयोगले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९ १६:०५