काठमाडौं- श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५६ लाख ६५ हजार २५६ पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा उक्त संख्यामानेपाली श्रमिक रोजगारीका लागि विदेश गएका हुन् ।
वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा धेरै संख्या कतारमा रहेको छ । गत फागुनसम्म कतारमा गएकाको संख्या १२ लाख ७८ हजार पुगेको तथ्यांक छ । यो समग्र वैदेशिक रोजगारीमा जाने संख्याको २२.५५ प्रतिशत हो ।
दोस्रोमा रोजगार गन्तव्यको रुपमा मलेसिया बनेको छ । मलेसियामा १२ लाख ५८ हजार ८८८ जना रोजगारीको लागि पुगेका छन् । यो विदेश जाने कूल संख्याको २२.२२ प्रतिशत हो ।
त्यस्तै तेस्रोमा साउदी अरबमा १० लाख ४८ हजार ९८७ जना गएका छन् । यो संख्या कूल संख्याको १८.५१ प्रतिशत हो । चौथोमा युएई परेको छ । त्यहाँ छ लाख ७५ हजार ५७३ नेपाली श्रम स्वीकृति लिएर रोजगारीका लागि गएका छन् ।
यो वैदेशिक रोजगारीमा गएका कूल संख्याको ११.९२ प्रतिशत हो । यी चार मुलुक प्रमुख रोजगार गन्तव्य रहेको अर्थिक सर्वेक्षणले देखाएको छ । समग्रमा नेपाली श्रमिकको ७५.२२ प्रतिशत संख्या कतार, मलेसिया, साउदी अरब र युएईले ओगटेको छ ।
त्यसैगरी कुवेतमा एक लाख ५७ हजार १९२, बहराइनमा ६३ हजार १८१, ओमानमा ४० हजार ९४२, दक्षिण कोरिया (अन्य)मा ३८ हजार ८५५ र इपिएसमार्फत ५९ हजार ५५९, लेबनान १२ हजार ७६२, इजरायलसात हजार १३, अफगानिस्तानमा १४ हजार ५३, जापानमा २० हजार १८६ तथा अन्यमा नौ लाख ८९ हजार ५४७ जना श्रमिक रोजगारीका लागि गएको अर्थ मन्त्रालयद्वारा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले देखाएको छ ।