तप्तराज आचार्य बाँकेको टिटिरिया गाविसका सचिव हुन् । २०३४ साल असरा २४ गते कर्णाली अञ्चलको बिकट जिल्ला जुम्लाको देपालगाउँ—६ मा वुवा स्वर्गिय कृष्ण र माता जोगमायाको कोखवाट जन्मेका आचार्यको वाल्यकाल गाउँमैं बितेको थियो । ग्रामिण ईलाकामा बसोवास गर्ने निम्न वर्गिय परिवारमा जन्मेका उनले ७ बर्ष पूगेपछि मात्रै बिद्यालयको अनुहार हेर्न पाएका थिए । बिहान, बेलुकी भैंसी चराउने, दिउसो बिद्यालय जाने उनको त्यसताकाको दिनचर्या थियो । उनका लागि रमाईलो पार्क भनेकै बनजङ्गल, खेलमैदान भनेकै खेतवारी, सुईमिङ्गपुल भनेर गाउँको तलतिर बग्ने खोला, टिफिन भनेकै सुकेको कोदाको रोटी थियो । बिद्यालयवाट बिदा भए शहर, बजारका बालवालिका घुम्न जान्छन्, रमाईलो गर्न जान्छन् तर आचार्य भने बिदा मिल्ने बित्तिकै मेलापात गर्न, घाँस, दाउरा गर्न बन—जँगल धाउँथे । यस्तो कठिन परिस्थितीका बावजुत पनि तप्तको पढाई प्रतिको मोह घटेन र त उनले सधैं राम्रो अँक ल्याएर उच्च शिक्षा हाँसिल गर्न सक्षम भए ।
बि.एड. सम्मको अध्ययन गरेका तप्तराज २०५६ साल देखि सरकारी सेवामा प्रवेश गरे । जिल्ला हुलाक कार्यालय, कालिकोटमा मुखिया पदबाट सरकारी सेवा शुरु गरेका उनले २०५६ मा जिल्ला हुलाक कार्यालय, डोल्पामा मुखिया हुँदै २०५७ मा पुनः कालिकोटमा फर्केर गाविस सचिवको रुपमा काम गरे । तत्पश्चात २०५७ साल देखि २०६६ साल सम्म जिल्ला शिक्षा कार्यालय, कालिकोटमा खरिदारको रुपमा जिम्मेवारी बहन गरे । २०६६ कै अन्त तिर जिल्ला स्वास्थ्य कार्यालय कालिकोटमा नायव सुव्वाको रुपमा काम गरेका उनले २०६९ सालमा औषधी व्यवस्था बिभाग, नेपालगञ्जमा काम गर्दै २०६९ को अन्तिम देखि २०७१ सम्म यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत रहे । २०७१ फाल्गुण २८ देखि हाल सम्म जिल्ला बिकास समितिको मातहतमा रहेर टिटिहिरिया गाविस सचिवको रुपमा उनी कार्यरत छन् ।
सधैं मुस्कुराएर सेवा दिने आचार्यले छोटो समयमैं टिटिहिरिया गाविसमा अनुकरणिय कार्य गरेका छन् । जसबाट उनको प्रशंसा चौतर्फि रुपमा भईरहेको छ । उनी छोटो समयमैं गाविसलाई खुला दिशामुक्त गाविस घोषणा गर्न सफल भए भने अतिक्रमित गाविसको जग्गा गाविसको मातहतमा ल्याउन सफल भए । गाविसको बार्षिक कार्यतालिका सहितको क्यालेण्डर प्रकाशन गरि सवै गाउँवासीहरुलाई उपलव्ध गराएका आचार्यले गाविसमा सेवाग्राही परिचयपत्र समेत लागु गरेका छन् । कसरी सफल भईयो त गाविसलाई खुला दिशामुक्त गाविस घोषणा गर्न भन्ने प्रश्नमा उनले भने— शुरुमा सेवाग्राही परिचयपत्र लागु, बिद्यालय, समुदाय, बस्ति—बस्तिमा चेतनामूलक कार्यक्रम, समस्याको खोजी, घरदैलो अभियान, वडा—वडामा पुरस्कारको घोषणा लगाएतका कार्यहरुले हामी हाम्रो योजनामा सफल भयौं । उनले भने–आफ्नो आर्थिक अवस्था कमजोर हुँदा—हुँदै पनि शौचालय निर्माण गर्नेलाई हामीले रेको सम्मान, एकिकृत घरदैलो अभियान र सबैको प्रतिवद्धताले हामीलाई सफलता तर्फ उन्मुख गरायो ।
नदी कटान, ऐलानी जग्गामा धेरै स्थानीयको बसोवास, सिमित स्रोत, साधन, सिंचाईंके आभव लगाएतका चुनौती र समस्याका बावजुत उच्च मनोवल र प्रतिबद्धताका साथ आचार्य गाउँको बिकासका लागि अहोरात्र खटिरहेका छन् । थुप्रै चुनौती र समस्याका बावजुत थुप्रै सम्भावना देख्छन्, आचार्य । उनले देखेका सम्भावनाहरुमा दुबै तिर राजमार्ग र बिचमा ओसाटिल बाटो, गाविसको पूर्वाधार राम्रो, प्रसस्त तरकारी उत्पादन, थारु जातीको सिप र उनीहरुले उत्पादन गरेका मौलिक सामाग्री, छेउमैं रहेको मानखोला आदि छन् । जसको उचित व्यवस्थापन भएमा टिटिहिरियाको बिकास तिव्र तरिकाले हुने आशा उनको छ ।
बर्षाैं देखि अतिक्रमित गाविसको जग्गा गाविसको मातहतमा ल्याएपछि उनको प्रशंसा गाउँभरी भएको छ । १७ कट्ठा जग्गा अतिक्रमण गरेर बर्षाैं देखि बसेकाहरुलाई हटाउनु फलामको च्युरा चपाउनु सरह थियो एक जना मामुली गाविस सचिवलाई तर चाह्यो भने कानुन सम्मत कुरा गर्न सकिदो रहेछ भन्ने कुराको पुष्टि गरिदिए उनै सचिव तप्तराजले । जुन कार्य जनप्रतिनिधिको रुपमा रहेका गाविसका अध्यक्षहरुले समेत सकेका थिएनन् । उनी यो कार्यमा अनि कसरी सफल भए त ? आचार्य भन्छन्—अतिक्रमण गरेर वसेकाहरुसँग शुरुमा हामीले छलफल गरि सम्झाई, बुझाई गर्यौं, तत्पश्चात गाउँका बडघर, दलका नेताहरुसँगको निरन्तरको छलफल र सहयोगबाट यो कार्यमा सफल भयौं । उनी थप्छन्—उक्त जग्गा गाविसको मातहतमा मात्र ल्याएनौं, जग्गा समेत छुट्याएर घेरवार समेत गरिसकेका छौं । गाविसमा आएको एक बर्षमा उनले दर्जनौं राम्रा काम गरेका छन्, जस मध्येको अर्काे राम्रो काम हो—गाविसबाट कार्यक्रम सहितको बार्षिक भित्ते पात्रो प्रकाशन । जनताबाट योजनाको माग बैशाख—जेष्ठ सम्म हुने, वडा भेलाका बारेमा सूचना पूग्दैन भन्ने कुराले उनको ध्यानकेन्द्रित गर्यो, त्यति मात्र होईन, ७० बर्ष पूगेका जेष्ठ नागरिकहरु सो को जानकारी गराउन गाविसमा पूग्ने घटनाले उनको मन छोयो । जसबाट उनले जुक्ति निकाले—भित्ते पात्रोको । जहाँ ईच्छा, त्यहाँ उपाय भनेझैं उनले बार्षिक कार्ययोजना र महिनावारी रुपमा हुने नियमित काम समेत उल्लेख गरि २०७१ को चैत्रमा बार्षिक भित्ते पात्रो प्रकाशन गरे र बिभिन्न माध्यमवाट उक्त भित्ते पात्रो घरदैलोमैं पुग्यो, कति घरमा त उनी आफै पनि पूगे । यसबाट गाउँवासीले जनप्रतिनिधि भएको समयको सम्झना गरेका छन् । त्यति मात्र होईन, यो कार्यको अनुकरण बाँके लगाएतका अन्य जिल्लाका गाविस सचिवहरुले समेत गर्ने योजना बनाएका छन् । यो आचार्यको राम्रो कार्य मात्र होईन, अनुकरणीय कार्य हो ।
सरकारले सरकारी सेवालाई मुस्कान सहित नागरिकहरुलाई दिने भनेको छ, यो सरकारी लक्ष्य धेरै सरकारी कर्मचारीलाई कागलाई बेल पाक्यो, हर्ष न बिस्मात जस्तै भएको छ । तर आचार्यलाई भने यो सेवा खोजेको र रोजेको सेवा जस्तै भएको छ । किनकि उनको वानी नैं मुस्कुराएर, हाँसेर बोल्ने खालको छ । मेरो वानीनैं मुस्कुराउने छ, मुस्कुराउनु गाह्रो कुरा भएन— आचार्य भन्छन्—सेवा लिन आएका सेवाग्राही हामीबाट सन्तुष्ट भए कि भएनन् भन्ने कुराले मात्रै मुस्कान सहितको सेवा प्रभावकारी भए, नभएको प्रमाणित गर्छ । मुस्कुराएर सेवा दिनुको अर्थ जे मन लाग्यो, त्यहि गर्नु वा सबैका काम हचुवाका भरमा मुस्कुराएरै गर्ने पनि होईन, यो सचिव आचार्यले राम्रोसँग बुझेका छन् । उनी भन्छन्—म जति सजिलो छु, त्यत्तिकै गाह्रो पनि छुँ, किनकि म ऐन, नियमको परिधि भन्दा बाहिर कहिल्यै जाँदैन ।
गाविसबाट हुने कार्यमा निष्पक्षता र पारदर्शितालाई अवलम्वन गर्ने प्रयास भईरहेको उल्लेख गर्ने आचार्य गत बर्ष गाउँमा बाढी पस्दा सबैको घरदैलोमा पूगे । जव गाविस सचिव सबैको घरदैलोमा पूगेर तथ्याँक सँकलन गर्दै सुख, दुःख साँट्न थाले, तव स्थानीयले गाविस जनप्रतिनिधि बिहिन अवस्थामा रहेको कुरा भुले, निर्वाचित गाविस अध्यक्षनैं आफ्नो दैलोमा आएको आभाष उनीहरुले गरे । जनप्रतिनिधि विहिन अवस्थामा अध्यक्षको जिम्मेवारी सरकारले दिँदा धेरै गाविस सचिवहरुले यसलाई बोझिलो जिम्मेवारी ठानेका छन् तर आचार्यले भने यसलाई अवसरको रुपमा सदुपयोग गरेका छन् । यो उपयुक्त अवसर हो, यस बेला हामीले धेरै काम सिक्न र गर्न सक्दछौं—आचार्यले भने । केही अनुकरणीय कार्य गरिसकेका आचार्यले थप नयाँ कार्यहरु गर्ने योजना समेत बुनेका छन् । नयाँ योजना बारे उनी भन्छन्—गाविसको नागरिक वडापत्रलाई व्यापक दिँदै गाविसलाई पूर्ण सरसफाई र बाँकेको प्रथम साक्षर गाविस घोषणा
गर्नेछौं । उनी थप्छन्—गाविसको मातहतमा ल्याईएको जग्गामा बृक्षारोपण गरि हरियाली बनाउने, गाविसको आम्दानीको स्रोत बढाउने हाम्रो प्रयास रहनेछ । आचार्यको सकारात्मक पहल र उच्च प्रतिबद्धता सधैं सगरमाथा जस्तै अटल रहोस्, उनी जस्तै कार्य अन्य सरकारी कर्मचारीले पनि गर्न सकुन्, हाम्रो शुभकामना ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७३ १६:४२