टोकियो– जापानमा आएको आँधीले १० जनाको ज्यान लिएको छ । समाचार एजेन्सीहरुले जनाएअनुसार जापानमा शनिबार आएको हागिबिस आँधीका कारण १० जनाको मृत्यु भएको हो ।
सो आँधीका कारण अहिलेसम्म १६ जना बेपत्ता भएका छन् । दशकौँपछि आएको उक्त शक्तिशाली आँधीले विभिन्न स्थानमा पहिरो गएको रोयटर्सले जनाएको छ । पानीको बहाव बढेसँगै नदी किनाराका घरहरु डुबानमा परेका छन् । पाँच लाख सर्वसाधरण बिजुलीबिना बस्न बाध्य भएको बताइएको छ । जापानी प्रधानमन्त्री शिन्जो अभीले बाढी पसेको क्षेत्रमा सुरक्षा तथा उद्धार गर्न डुंगा र हेलिकोप्टर परिचालन गरेको जनाएका छन् ।
टोकियो नजिकैको तामा नदीसँगै अन्य नदीहरुमा बहाव बढेको छ । पहिरो तथा बाढीबाट जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन जापानी सरकारले आग्रह गरेको छ । शिजुओका, कानागावा, टोकियो, सैतामा, गुन्मा, यामानशी र नागानो प्रान्त लगायतका ठाउँहरूमा सतर्कता अपनाउन जापानी मौसम विभागले सूचना जारी गरेको छ ।
हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । हालैका वर्षहरुमा यो निकै शक्तिशाली आँधी भएको जापानले जनाएको छ । जस्को वेग प्रतिघन्टा दुई सय १६ किलोमिटरभन्दा बढी भएको बताइएको छ ।