काठमाडौं- तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको उपाधि तिर्थबहादुर तामाङ र पूर्णिमाया राईले जितेका छन् । विश्वकै सर्वाधिक उचाईमा आयोजना हुने म्याराथनमा तिर्थले पुरुषतर्फ र पूर्णिमायाले महिलातर्फको उपाधि जितेका हुन् ।
सगरमाथाको आधारशिविरबाट सुरु भएको म्याराथनमा तिर्थले निर्धारित दुरी ३ घण्टा ५१ मिनेट ९ सेकेण्डमा पूरा गरे । राजकुमार राजभण्डारी ३ घण्टा ५१ मिनेट ५९ सेकेण्डको समय निकाल्दै दोस्रो भए ।
यस्तै सुमन कुलुङले निर्धारित दुरी ३ घण्टा ५३ मिनेट १० सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे । महिलातर्फ उपाधि जित्ने क्रममा पूर्णिमायाले निर्धारित दुरी ५ घण्टा १९ मिनेट १५ सेकेण्डमा पूरा गरिन् । दोस्रो भएकी अमल धनी राईले ५ घण्टा ३९ मिनेट १ सेकेण्डको समय निकालिन ।
यस्तै ५ घण्टा ४४ मिनेट १९ सेकेण्डसहित सेविका राई तेस्रो बनिन् ।विदेशी कोटाको म्याराथनतर्फको उपाधि स्विजरल्याण्डका बेर्नहार्ड जेन्जरले जिते । रोमानियाका ड्रागोस मुनटिनु दोस्रो र बेलायतका बेन्जामिन तेस्रो भए । हाफ म्याराथनको उपाधि जर्मनीका भेरेना स्किमेरले जिते ।
यस्तै रोमानियाका एलेना फेर्तु दोश्रो तथा जर्मनकै डिटेनर स्टभ तेश्रो भए । अल्ट्रा म्याराथनको उपाधि अर्जुन राई कुलुङले जिते । यस्तै गोपाल तामाङ दोस्रो र दुर्गा राज बुढा तेस्रो भए ।म्याराथन सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरबाट सुरु भएर नाम्चे बजारमा आएर सकिएको थियो ।
एक्सट्रिम अल्ट्रा ६० किलोमिटर दौड, खुल्ला म्याराथन र महिला खुल्ला म्याराथनका विजेताले समान एक लाख रूपैयाँ पुरस्कार पाउँदा उपविजेताले ७५ हजार तथा तेस्रो हुनेले ५० हजार रूपैयाँ प्राप्त गरे ।यसैगरी विदेशीतर्फको म्याराथन र हाफ म्याराथनका विजेताले जनही ५० हजार, उपविजेताले जनही ३५ हजार र तेस्रो हुनेले २५ हजार रूपैयाँका दरले पुरस्कार हासिल गरे ।
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९ ०९:४६