म्याग्दी– म्याग्दी जिल्लाका किसानले लगाएको मकै बालीमा फौजी कीराले क्षति पुर्याउन थालेको छ । जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायतका क्षेत्रका किसानले लगाएको मकै बालीमा फौजी कीराले दुःख दिन थालेको हो ।
हुर्किसकेका, घोवा हाल्न लागेका र भर्खर उम्रिएर हरिया भएका मकैका बोटलाई कीराले सखाप अवस्थामा पुर्याएको किसानहरू बताउछन् । ‘भर्खर हरिया भएका बोटमा फौजी कीराको आक्रमण बढी भएकाले बोट नै सकिन थाल्यो’, मंगलाका किसान टेकबहादुर विकले भने ।
उनका अनुसार विषादीले समेत कीराको आक्रमण रोकिन सकेको छैनन् । उनले भने ‘पछिल्लो दुई सातादेखि मकैबालीमा फौजी कीराको समस्या बढेको छ । समस्या रोक्न विभिन्न उपाय अपनाए पनि कीरा नियन्त्रणमा आउन सकेको छैन् ।’
बगरफाँट, खबरा, भकिम्ली, बाबियाचौरलगायतका स्थानका किसानले लगाएका क्षेत्रका बालीमा कीराको प्रकोप बढेको कृषि प्राविधिकले बताएका छन् । मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले रोग र कीराको प्रकोपबाट यस क्षेत्रका किसानले हैरानी बेहोर्नुपरेको बताए ।
कीरा प्रकोप नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराउँदै आएको उनले जानकारी दिए । यहाँका किसानले परम्परागत रूपमा लगाउँदै आएको मकैबालीमा कीराको आक्रमण बढी हो ।
जिल्लाको ज्यामरुकककोट क्षेत्रमा भने मकैका बोट उम्रन थालेदेखि नै कीराको आक्रमण बढेको र बोट जोगाउनै मुस्किल परेको किसानको भनाइ छ । प्रायः सुक्खा मौसममा देखिने सो कीरा पछिल्लो समय वर्षा भइरहँदा पनि बढेको कृषि प्राविधिक बताउँछन् ।
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९ ११:२५