मोरङ - मोरङ जिल्लाको कटहरी गाउँपालिका–२ आदर्शटोल बस्ने ५० वर्षीय तुलसी श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही पालिकाका रविन भुजेल, कपिल माझी र नितेश चौधरी रहेका छन् ।
कटहरी गाउँपालिका–१ महेशपुर थानगाछीस्थित खेतमा आइतबार बिहान तुलसी श्रेष्ठ शरीरमा चोटपटक लागेर मृत अवस्थामा फेला परेका थिए ।
घटनाको अनुसन्धान गर्ने क्रममा वडा प्रहरी कार्यालय हाटखोला र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुंगा लगायतले प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९ १३:२४