रियो दि जनेरियो- ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ ।
व्यापक वर्षाका कारण आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको छ। अझै बेपत्ता हुनेको सङ्ख्या ५६ रहेको आइतबार स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
बाढी र पहिरोबाट प्रभावित व्यक्तिको उद्धारमा करिब चार हजार उद्धारकर्मी खटाइएको छ । उत्तरपूर्वी पर्नाम्बुको राज्यको राजधानी रेसिफ शहर सबैभन्दा बढी प्रभावित भएको छ । उक्त सहरमा मात्र ३० भन्दा बढी मानिसको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले स्थितिको मूल्याङ्कन गर्न सोमबार रेसिफ को भ्रमण गर्ने उहाँले ट्वीटरमार्फत् प्रेषित एक सन्देशमा जानकारी गराएका छन् । छिमेकी राज्य अलागोसमा बाढीका कारण दुई जनाको मृत्यु भएको र करिब सात हजार विस्थापित भएको जनाइएको छ भने अन्य छिमेकी राज्यहरूमा पनि अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले जनजीवन प्रभावित बनाएको छ । पर्नाम्बुको नौ नगरपालिकामा स्थानीय तहले आपतकालीन अवस्था को घोषणा गरेको छ । -सिन्ह्वा
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९ १३:५०