आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एनइटी ट्वीनअटर जहाज दुर्घटना हुँदा त्यसमा सवार सबै २२ जनाको मृत्यु भयो । यसमा चालकदलका तीन जनासहित १३ नेपाली, चार भारतीय र दुई जर्मन नागरिक परे । खराब मौसम छिचोल्दै पोखराबाट अघि बढेको जहाज जोमसोम पुग्न थोरै मात्र बाँकी रहँदा मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भीरमा दुर्घटनामा पर्यो ।
यो दुर्घटना नेपालका लागि पहिलो होइन । हवाई दुर्घटनाको लगत राख्न थालिएको ६७ वर्षयता आइतबारको दुर्घटनासमेतलाई जोड्दा नेपाली आकाशमा १०८ वटा हवाई दुर्घटना भएका छन् । जसमा १०० भन्दा बढीले मृत्युवरण गर्न पुगे । केही घाइते भए ।
अर्को दुःखद् पक्ष भनेको आइतबारको दुर्घटना यती समूहको १३औं हवाई दुर्घटना हो । यती समूहले दुर्गम उडानका लागि १३ वर्षअघि तारा एयरको नाम दिएर छुट्टै कम्पनी स्थापना गरेको थियो । तारा एयर स्थापना भएयता नै छ वटा दुर्घटना भइसकेका छन् ।
कूल १३ वटा दुर्घटनामा यती समूहले मानवीय क्षति भएका छ वटा दुर्घटना बेहोरिसकेको छ । यसमा तीनवटा तारा र तीनवटा यतीसँग सम्बन्धित छन् । बाँकी सात वटा घटनामा यात्रु घाइते भए पनि कुनै मानवीय क्षति भने हुन पाएन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिमाली भेगमा मात्रै ११ वटा दुर्घटना भएका छन् । प्राधिकरणद्वारा जारी एभिएसन सेफ्टी रिपोर्ट–२०२१ का अनुसार, २०१२ सालदेखि २०७६ चैतसम्म नेपालमा भएका १०७ हवाई दुर्घटनामा अल्ट्रालाइट वायुयान तीन, एकल इञ्जिनयुक्त विमान आठ, विदेशी वायुसेवाका नौ, हेलिकप्टर ३६ र मल्टी इञ्जिनयुक्त विमानसँग सम्बन्धित ५१ वटा दुर्घटना भएका छन् ।
यसले नेपाली आकाश सुरक्षित छैन भन्ने संकेत गर्छ । उसो त पुराना जहाज, मौसम खराब हुँदा पनि उड्नैपर्ने पाइलटमाथिको ‘दबाब’जस्ता कारणले पनि दुर्घटना निम्तिने गरेका छन् । नेपाली आकाशमा हरेक दुई वर्षमा हवाई दुर्घटना हुन थालेपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र युरोपियन युनियन (इयू)ले नेपालको हवाई उडानलाई कालोसूचीमा राखेको छ । केहीदिन पहिले मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री प्रेम आलेले कालोसूचीबाट हटाउन माग गरेका थिए । तर, यसमा उनीहरूले सम्बोधन गरेका छैनन् ।
सरकारले तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन वरिष्ठ एरोनटिकल इञ्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा पाँच सदस्यीय जाँच आयोग गठन गरिसकेको छ । तर, हरेकपटकको दुर्घटनापछि बन्ने यस्ता आयोगले कि मौसमलाई कि दुर्घटनामा निधन भइसकेका चालकलाई दोषी करार गर्ने गरेको पाइन्छ ।
जसले गर्दा एयरलाइन्स कम्पनीहरू दोषको भागिदारीबाट उम्किने गरेका छन् । हेरौं, आयोगले यसपटक के प्रतिवेदन दिन्छ ।तर, अब एउटा सोच्नुपर्ने विषय भनेको उडानमा कडाइ गर्नुपर्ने देखिन्छ । खराब मौसम हुँदा वा मौसमको जोखिम रहँदा उडान सञ्चालन गरिनु हुन्न । उडानका लागि पाइलटलाई ‘अनुचित दबाब’ दिनुहुन्न ।
पुराना जहाजहरूलाई विस्थापन गर्नुपर्छ । किनकि, दुर्घटनाको कारण पुराना जहाज पनि बन्न सक्छन् । समग्रमा, नेपाली हवाई यात्रालाई सुरक्षित बनाउन सरोकारवाला सबैले बेलैमा ध्यान दिनुपर्छ । कामना गरौं यस्ता दुर्घटनाहरू अब नेपालीले कहिल्यै व्यहोेर्न नपरोस् । फेरि यस्तो नियति कहिल्यै नदोहोरियोस् ।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९ ११:१२