काठमाडौं- ‘कबड्डी–४’ की नायिका मिरूना मगरविरूद्ध प्रदर्शन सुरु भएको छ । उनीविरुद्ध चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् ।
प्रदर्शनकारीहरूले चलचित्र ‘कबड्डी–४’ को पोस्टरसमेत जलाएका छन्। मिरुनाले आफूमाथि ‘ब्याड टच’ गरेको भन्दै एकजना वौद्ध भिक्षु फुर्वा लामालाई झापड हानेकी थिइन् । उनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी थिइन् ।
प्रहरी हिरासतमा रहेका लामालाई प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । विना कारण भिक्षुलाई फसाएको भन्दै युवाहरूले प्रदर्शन गरेका हुन् । उनलाई छुटाउने विषयमा प्रहरीसँग विभिन्न संघ संस्थाले छलफल गरिरहेका छन् ।
चलचित्रका निर्देशक रामबाबु गुरूङले घटनाबारे बुझ्ने काम भइरहेको बताएका छन् । उनले भने, ‘तपाईहरूबाट नै मैले पनि थाहा पाएको छु । नायिकासँग सम्पर्क भएको छैन । यस विषयमा दुवै पक्षको कुरा सुनेर मात्र हामी अगाडि बढ्छौं ।’
उक्त विवादलाई लिएर चलचित्र नै बहिस्कार गर्नुपर्छ भन्ने विषय गलत भएको उनको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९ १२:३६