स्थानीय तहको निर्वाचन सम्पन्न भएर काठमाडौं महानगरपालिकामा जनप्रतिनिधि अँइसकेका छन् । उनीहरूले पदभार पनि ग्रहण गरिसकेका छन् । तर, चुनावताका नै काठमाडौंका सडकमा थुप्रिएको फोहोर थुप्रो भने झन्झन् अग्लिदै छ । यसले पैदलयात्रुलाई नाक थुनेर हि“ड्ने अवस्था त सिर्जना गरेको छ नै, वातावरण र मानवस्वास्थ्यमा पनि प्रतिकूल असर गरिरहेको छ ।
यतिबेला हेर्ने हो भने काठमाडौंका गल्ली–गल्लीमा फोहोर थुप्रिएको छ । दुईरतीन हप्तासम्म फोहोर नउठ्दा नागरिक आक्रान्त र आक्रोशित बनिरहेका छन् । उसो त यो समस्या अहिलेको मात्र होइन । पटक–पटक यस्ता समस्या दोहोरिरहेका छन् । महिनौंसम्म पनि फोहोर नउठ्ने समस्या काठमाडौंवासीले झेलिसकेका छन् । तर, सधैँको समस्या त हो नि भनेर कोही पनि पन्छिन मिल्दैन । अझ काठमाडौं महानगरपालिका एउटा जिम्मेवार निकाय भएकाले तत्काल तदारुकता देखाउनैपर्छ ।
सोमबार काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न नगरप्रमुख बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कामपाको नवनिर्वाचित प्रमुख शाहको अध्यक्षतामा सोमबार बसेको पहिलो कार्यपालिका बैठकले उपप्रमुखसहित पा“च जनाको अध्ययन कार्यदल गठन गर्ने निर्णय ग¥यो । शाह निर्वाचित भएको घोषणा भएकै दिन पनि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनस्थल सिसडोल र बञ्चरेडा“डा पुगेर फर्किएका थिए ।
फोहोर व्यवस्थापन र खाल्डाखुल्डी काठमाडौंका प्रमुख चुनौती हुन् । महानगरलाई सुन्दर बनाउन यी कुराले बाधा गरिरहेका छन् । मेयर शाहले काठमाडौं महानगरलाई देशकै उत्कृष्ट सहर बनाउने घोषणा गरेका छन् । यसका लागि आवश्यक पूर्वाधार निर्माण, सम्पदा संरक्षण, योजना निर्माण, वृक्षरोपण या यस्तै काम त गर्नुपर्ला नै तर, सबैभन्दा पहिले फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्छ । बाहिरबाट हेर्दा सुन्दर लाग्ने तर, जब सहर छिरिन्छ तब दुर्गन्धले नाक छोप्दै हिँड्ने अवस्था आउने हो आवरणको सुन्दरताको कुनै अर्थ छ ।
मेयर शाहका अनेक परिचय छन् । उनी युवा छन् । पढेलेखेका छन् । इञ्जिनियर पनि हुन् । यसकारण उनीबाट महानगरबासीका थुप्रै अपेक्षा छन् । दलीय राजनीतिले थिलोथिलो पारेको महानगरलाई माथि उठाउन मतदाताले आफ्नो अपेक्षा स्वतन्त्र उम्मेदवार शाहलाई आफ्नो अमूल्य मत दिएर व्यक्त गरेका छन् । शाह पनि दलका नेताजस्तो चुनावअघि अनेक फुर्का जोडिएका सुन्दर घोषणापत्र बनाउने र पदमा पुगेपछि कार्यान्वयन गर्ने चरित्रमा चुर्लुम्म भए भने यसले व्यक्तिगत रूपमा उनलाई त घाटा गर्छ नै । मतदाताको मतको समेत घोर अपमान ठहरिनेछ । आउँदा दिनमा स्वतन्त्र उम्मेदवारप्रतिको जनविश्वास पनि गुम्नेछ ।
देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरको नेतृत्वमा पुग्दै गर्दा मेयर बालेनका अगाडि चुनौतीका चाङ छन् । त्यसमध्येको पहिलो चुनौती नै फोहोरमैला व्यवस्थापन हो । उनले कार्यदल बनाएर केही सकारात्मक सन्देश त दिएका छन् । तर, कार्यदलमा नरहेका वडाध्यक्षलाई फोहोरमैला व्यवस्थापनमा जिम्मेवार बनाएनन् भने कार्यदल मात्र होइन सिंगो महानगर नै असफल हुने जोखिम छ । तसर्थ, महानगरमा निर्वाचित सबै जनप्रतिनिधि र महानगरबासीको साथ लिएर फोहोरमैला व्यवस्थापनमा जुट्नुपर्छ ।
यसअघि पनि अभ्यास भएको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै फाल्ने व्यवस्थामा कडाइ गर्नुपर्छ । यसका लागि चाहिने न्यूनतम पूर्वाधार तयार पार्नुपर्छ । घरभित्रबाट फोहोर निकाल्दा दुईवटा पोका/बोरा निकाल्न लगाउनुपर्छ । एउटा कुहिने, एउटा नकुहिने । बाटोमा पनि यसका लागि प्रशस्त डस्टबिनहरू राख्नुपर्छ ।आमनागरिकको तहबाट पनि जिम्मेवारी प्रदर्शन गर्न जरुरी छ । आफ्नो घरभित्र उत्पादन भएको फोहोरलाई बाहिर सडकमा जथाभावी फाल्ने, महानगरलाई औंला देखाएर पन्छिने काम पटक्कै गर्नु हुँदैन ।
महानगर हामी सबैको हो र यसको सफलता वा असफलताका लागि हामी सबै जिम्मेवार छौं भन्ने बिर्सिनु हुँदैन । सबभन्दा नजिकको सरकार भएको नाताले महानगरपालिकाको आफ्नो दायित्व त छँदै छ, नागरिकले पनि आफ्नो कर्तव्य र जिम्मेवारी पालना गर्ने हो भने काठमाडौं साँच्चिकै सुन्दर सहर बन्नेछ । लोभलाग्दो सहर बन्नेछ । सम्पदा र संस्कृतिले भरिपूर्ण सहर काठमाडौंलाई सरसफाइमा पनि उत्तिकै सुन्दर बनाउन सबैजना आजैदेखि आ–आफ्नो ठाउँबाट लागि परौँ।
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९ ११:२७