क्यानबेरा– अष्ट्रेलियाका नवनियुक्त मन्त्रीहरूलाई बुधबार सपथ खुवाइएको छ ।
लेबर पार्टीका नेता एन्थोनी अल्बानी नेतृत्वको मन्त्रिपरिषद्मा रहेका ३० जनालाई “गभर्नर जनरल” डेभिड हुर्लीले सपथ खुवाएको हो ।
क्यानबेरामा रहेको “गभरमेन्ट हाउस”मा प्रधानमन्त्री अम्बानीको रोहबरमा उनले मन्त्रीहरूलाई सपथ खुवाएको जनाइएको छ ।
अष्ट्रेलियामा नवगठित ३० सदस्यीय मन्त्रिपरिषद्लाई मुख्यगरी तीन प्रकारले ऐतिहासिक मन्त्रिपरिषद् मानिएको छ ।
मन्त्रिपरिषद्मा अहिलेसम्मकै सबैभन्दा धेरै १३ जना महिला मन्त्री हुनु, आदिवासी महिला पहिलो पटक मन्त्री बन्नु र मन्त्रिपरिषद्मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व हुनुले यस मन्त्रिपरिषद्लाई ऐतिहासिक मानिएको हो ।
आदिवासी समुदायका महिला मध्ये लिन्दा बर्नी पहिलो मन्त्री हुन् । अष्ट्रेलियामा यसअघि आदिवासी समुदायबाट कुनै महिला मन्त्री बनेका थिएनन् । तर आदिवासी पुरुष भने एक जना मन्त्री यसअघि केन वाईट बनेका थिए ।
त्यसैगरी अष्ट्रेलियाको इतिहासमा अहिलेको मन्त्रिपरिषद्मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ । अहिले एकै पटकमा मुस्लिम समुदायका दुई जना मन्त्री बने भएको हो ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार एद हसिक र अन्ना अलीले मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषद्मा सहभागी हुने ऐतिहासिक अवसर पाएको हो ।
लेबर पार्टीका नेता अल्बानी प्रधानमन्त्री भएको १० दिनपछि मात्रै मन्त्रपरिषद् गठन गरिएको हो । लेबर पार्टी यसअघि नौ वर्ष प्रतिपक्षमा रहेको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९ १४:३४