सडक दुर्घटनामा परी हरेकवर्ष सैयौँको मृत्यु भएको समाचार आउने गरेको छ । सरकारले सडक दुर्घटनालाई कम गर्न कुनै ध्यान दिन सकेको छैन । त्यसो त सरकारमा बस्नेहरूले आफ्नो मतलब पूरा गर्नमै व्यस्त हुने हुनाले सडक दुर्घटना कम गर्नेतिर ध्यान दिन सकेको देखिएको छैन । सरकारले जनताको जीउ, धनको सुरक्षा गर्ने हो तर नेपालको सरकार भने यस्तो देखिएको छैन । बरु उसैले जनतालाई सकस दिने काममा अघि बढेको देखिन्छ । चाडबाडका बेला ग्रामीण क्षेत्रमा बढी सडक दुर्घटना भइरहेको छ । यस्तो अवस्थामा सरकारले दुर्घटनालाई कमी गर्नका लागि विभिन्न पाइला चाल्नुपर्ने हुन्छ । जनताको सुरक्षाका लागि सरकारले गम्भीर भएर सोच्नैपर्छ । यसको विकल्प पनि त छैन ।
चाडबाडमा आमनागरिक ग्रामीण क्षेत्रमा पुगेका हुन्छन् । यसबेला ग्रामीण सडक अत्यन्तै व्यस्त हुन्छन् । यहि बेला सार्वजनिक सवारीसाधनहरूले पनि यात्रु कोचेर बोक्ने गरेका छन् । उनीहरूले सडकको अवस्था नहेरी अत्यन्तै बढी यात्रु राखेर सवारी चलाउने गरेका छन् । सवारीले क्षमताभन्दा चौबलसम्म यात्रु राखेर सडकमा दौड्दा दुर्घटना त अवश्यम्भावी नै छ । यस्तो अवस्थामा सरकारले सडकमा अनुगमन गर्नुपर्छ । जनतालाई सवारीसाधनहरूले गुन्द्रुक खाँदेसरह खाँदेर यात्रा गराउने गरेका छन् । यस्तो अवस्थामा ठाउँठाउँमा सुरक्षाकर्मी, यातायात व्यवस्था कार्यालय, स्थानीय तहआदिले सवारीसाधनको अवस्था, यसको क्षमता र यसले बोकेको यात्रुहरूबारे गम्भीर भएर नियन्त्रण गर्नुपर्छ । यस्तो अवस्थामा सार्वजनिक सवारीहरूले दिने थारै रकमको आसमा प्रहरी र प्रशासनका अन्य निकाय चुप बस्दा आमनागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ ।
दसैँ सक्किनासाथ नवलपरासी(पूर्व), सिन्धुली, काभ्रे, पर्सा र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । दसैँ मनाएर कर्मक्षेत्रमा फर्किएकाहरूको मृत्युले सरकारलाई पोल्नुपर्छ । सरकारमा रहेकाहरू चिन्तित हुनुपर्छ । सडक निर्माणमा स्थानीय तहले गरेको लापरबाहीबारे सरकारले अब सोधखोज गर्नुपर्छ । प्राविधिकले स्वीकृत नदिएसम्म सडक निर्माणलाई अघि बढाउन रोक्नुपर्छ । सडक निर्माण गर्दा हुने फाइदा र बेफाइदाका बारेमा प्राविधिकहरूले जाँच नगरेसम्म सडक निर्माण रोकेर सडकलाई वैज्ञानिक बनाउनुपर्छ । हचुवाका भरमा बनाइएका सडकहरू दुर्घटनाका पहिलो कारक हुन् भने दोस्रो चाहिँ सार्वजनिक सवारीले क्षमताभन्दा बढी यात्रु राखेर गुडाउनु । यसका लागि सरकारले अनुगमन गरेर बढी यात्रु बोक्न निषेध पनि गर्नुपर्छ । सडक दुर्घटनाजस्तो गम्भीर कुरामा सरकारले संवेदनशील देखाउनैपर्छ । सडक निर्माण गर्दा भएको लापरबाही र सवारीसाधनले बढी कमाउनका लागि बढी यात्रु कोच्ने संस्कारप्रति सरकार आक्रमक रूपमा अघि बढेर जनताको जीउ, धनको सुरक्षामा संवेदनशील हुनुपर्छ ।
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६ ०६:०८