वर्तमान नेपालको संविधानअन्तर्गत सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचन २०७९ ले धेरै क्षेत्रमा सकारात्मक सन्देश दिएको छ र केही पाठहरु पनि सिकाएको छ । यस निर्वाचनले दिएको पहिलो उपलब्धि दुई–दुई पटक गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनपछि बनेको गठबन्धन सरकारले निर्धारित समयमा स्थानीय तहको निर्वाचन गर्न सक्छ वा सक्दैन, गर्छ वा गर्दैन भन्ने आशंकालाई चिर्दै अपेक्षाकृत शान्त र निष्पक्षरुपमा निर्वाचन सम्पन्न गरी स्थानीय तहको निरन्तरता, संविधानको कार्यान्वयन एवं क्रियाशीलता कायम गरेको छ ।
यसले स्थानीय सरकारको वैधानिक, कानुनी र राजनीतिक निरन्तरताको व्यवहारमै सुनिश्चितता गरेको छ, यो निकै ठूलो उपलब्धिको विषय हो । साथै, स्थानीय तहको निर्वाचन नगरी स्थानीय तहमा शून्यताको अवस्था सिर्जना गर्न चाहने तत्वलाई पराजित गरेको छ ।
यस निर्वाचनले दिएको दोस्रो सन्देश संसद् विघटन गर्ने कार्य जस्तो असंवैधानिक कार्य गर्ने राजनीतिक दललाई जनमतबाट ठेगान लाइएको छ । असंवैधानिक कार्य गर्ने राजनीतिक दललाई जनताले दण्डित गर्ने माध्यम नै निर्वाचन भएको र निर्वाचनबाटै उक्त पार्टी तिरस्कृत भएको छ, सबै महानगरपालिका तथा अधिकांश उपनगरपालिकाहरुमा उक्त पार्टी पराजित भएको छ ।
ठूलो, संगठित र धनी पार्टी भएपछि सबै निर्वाचन जितिन्छ भन्ने दम्भ र अहंकारलाई सभ्य ढंगले यस निर्वाचनले सवक सिकाएको छ । त्यस सवकले नै नौ महिना अघिदेखि अवरोध गरिरहेको प्रतिनिधिसभा हाल सञ्चालन गर्न प्रमुख प्रतिपक्ष बाध्य भएबाट सो कुरा पुष्टि भएको छ । गलत कार्यलाई पुष्टि गर्न अपनाइएका असंगत र अप्रजातान्त्रिक हर्कतलाई जनताले दण्डित गर्ने रहेछन् भन्ने सन्देश स्थानीय तहको निर्वाचनले दिएको छ ।
तेस्रो सकारात्मक सन्देश राम्रो काम गर्ने स्थानीय तहका जनप्रतिनिधिलाई जनताले पुनः निर्वाचित गरेका छन् भने नराम्रो काम गर्ने जनप्रतिनिधिलाई हराइदिएका छन् । यसले के सन्देश दिएको छ भने जनताले कामको र क्षमताको मूल्यांकन गरेर भोट दिने रहेछन् ।चौथो सन्देश पार्टीको झोले उम्मेदवार हु“दैमा स्वयं पार्टीका सदस्यसमेतले भोट नदिने रहेछ, यदि त्यस्तो उम्मेदवार असक्षम छ भने ।
अर्थात् जनताले पार्टीभन्दा माथि उठेर निर्णय गर्नसक्ने रहेछन् । यसको मतलब राजनीतिक दलहरुले उम्मेदवार छनोट गर्दा सक्षम व्यक्ति छनोट गर्नुपर्ने देखियो । अब जनताले स्थानीय सरकारको सन्दर्भमा पार्टीभन्दा व्यक्ति, पढेलेखेका युवक, नया“ ढंगले काम गर्न सक्ने सक्षम, स्वच्छ आचरण भएका व्यक्ति खोजी गरेको देखिन्छ । अझ भन्ने हो भने नेपाली केजरीवालको खोजी गरेका छन् जसले भ्रष्टाचार तथा चुहावट नियन्त्रण गरेर जनतालाई सोझै राहत तथा सेवा सुविधा उपलब्ध गराउन सकोस् । नेपालमा पनि केही नगरपालिका जस्तोः भक्तपुर नगरपालिकाका प्रमुखले केही हदसम्म त्यस किसिमको प्रयास गरेको सुनिएको छ भने पा“चखाल नगरपालिकाका प्रमुख पनि त्यस दिशामा क्रियाशील रहेको सुनिएको छ । र, पुनः निर्वाचित पनि भएका छन् ।
पा“चौं सन्देश पैसामा टिकट र मतदाता किन्न सकिन्छ भन्ने सोच नराखे पनि हुन्छ भन्ने देखियो । जनता सचेत भइसकेका छन्, पार्टी वा दल नहेरेर व्यक्तिको योग्यता क्षमता र आचरण हेरेर मत दिने अभ्यासको विकास हुन लागेको देखिन्छ । यसले पार्टीलाई पनि निकै ठूलो चुनौती थपिदिएको छ, पार्टीको नेताको पछि लागेर वा पैसा तिरेर टिकट लिने दिने प्रवृत्तिलाई जनताले मत नदिने कुरा स्पष्ट भएपछि व्यक्तिको योग्यता, क्षमता र आचरण हेर्नुपर्ने बाध्यता पार्टीहरुलाई पनि सिर्जना भएको छ ।
छैटौं सन्देश नातावाद कृपावादलाई पनि यस निर्वाचनले ठूलो धक्का दिएको छ । उम्मेदवार स्वयंमा सक्षम र स्वच्छ आचरणको भए पनि नातावाद र कृपावाद वा स्वार्थको लेनदेनमा टिकट दिएको भन्ने लागेमा जनताले मत नदिने रहेछन् भन्ने उदाहरण काठमाडौं र विराटनगर महानगरको निर्वाचनबाट प्रस्ट हुन्छ ।
अन्त्यमा जनताले आफ्नो नजिकको सेवा प्रवाह गर्ने र सुविधा दिने सरकार भनेको स्थानीय सरकार हो भन्ने बुझ्न थालेका छन् । सक्षम र असक्षम व्यक्तिको मूल्यांकन गर्न थालेका छन् । काम गर्ने र नगर्ने पार्टी चिन्न थालेका छन् । यस निर्वाचनले स्थानीय सरकारको निरन्तरता मात्र नभएर राम्रो स्थानीय सरकारको मान्यता स्थापित गर्न लागेको आभाष मिलेको छ ।
-सीताराम ढुंगेल (सीरा अगस्त्य)
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९ १४:००