काठमाडौं - नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले गरेको निर्णयअनुसार यसअघि सरकारमा रहेका चार जनालाई फिर्ता बोलाएर नयाँ चार जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ ।
यससँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ फिर्ता हुने भएका छन् । उनीहरू गत असोज २२ मा मन्त्री बनेका थिए ।
नया“ मन्त्रीको सूचीमा भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या, जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा र हिरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका छन् । खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए ।
एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट छ महिनाका लागि मन्त्री बनाइएकाहरूको समयावधि नाघेको भन्दै उनीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९ १०:२१