देवेन्द्र पाण्डे, उमेरले सानै हुनुहुन्छ तर, उहाँको काम भनेको आफूभन्दा ठूला कलाकारलाई अभिनय गराउने हो । यत्तिसम्म की निर्देशक पाण्डेले आफूले हजुरबा भन्नेसम्मका वरिष्ठ कलाकारहरूलाई फिल्ममा अभिनय गराउनु भएका छन् । सुरुमा पाण्डेलाई देख्नेले राम्रो काम गर्छ भनेर पत्याउँदैनन् । तर, काम गर्दै जाँदा पाण्डेसँग यत्ति निकट हुन्छन् कि पुनः अर्को फिल्म वा म्युजिक भिडियोहरूमा दोहो¥याएर काम गर्ने हुट्हुटी लागेको उहाँको निर्देशनमा काम गर्नेहरू नै बताउँछन् । धादिङको धुनबेँसी नगरपालिका वडा नं. ३ मा बुबा नारायणबहादुर पाण्डे र आमा कान्छी पाण्डेको कोखबाट ०४६ सालमा जन्मिनु भएका पाण्डेको बाल्यकाल काठमाडौं उपत्यकामा बित्यो । उहाँले काठमाडौंलाई नै कर्मथलो बनाउनु भएका छन् । उहाँको शिक्षा दिक्षा पनि काठमाडौं मै भयो । आफ्नो भविष्य बनाउने बाटोमा हिँड्दै जाँदा उहाँले विवाहको कुनै सोच बनाउनै भ्याउनु भएको छैन । जनप्रशासनतर्फ स्नातकोत्तर तहमा अध्ययनरत पाण्डेसँग निर्देशन र उहाँको अन्य अनुभवका बारेमा प्रभावकर्मी लोकराज रुम्दालीले गर्नुभएको कुराकानीको सम्पादित अंशः
तपाईँ चलचित्र निर्देशमा कसरी लाग्नुभयो ? यसका बारेमा के बुझ्नु भएको छु ?
— चलचित्र क्षेत्र मेरा लागि एउटा विश्वविद्यालय नै हो । चलचित्र क्षेत्रमा म ०५८ सालदेखि क्रियाशील छु । सानैदेखि चलचित्र क्षेत्रमा लागेको हुँ । ०५८ सालमा चलचित्रमा ग्रुप डान्समा नृत्य गरेको थिएँ । ०६३ सालमा एसएसली सकियो । अरु गीतहरूमा पनि नाँच्दै गएँ । वरिष्ठ निर्देशक शिव शर्माको असिस्टेन्टमा चलचित्र निर्देशन गरेँ । उहाँको मुख्य सहायक निर्देशक भएर लामो समय काम गरेँ । धेरै फिल्ममा काम गर्ने मौका पाएँ । ‘हत्याकाण्ड’, ‘आफ्नै मनलाई सोधेर’, ‘पर्खी राख है’ लगायत फिल्म शिव शर्माले निर्देशन गर्नुभएको चलचित्र हुन् । उहाँको असिस्टेन्ट गर्दै मैले म्युजिक भिडियो निर्देशन गर्ने मौका पाएँ । यहीबीचमा मलाई एउटा फिल्म निर्देशन गर्न अफर आयो । त्यो फिल्म ‘वान साइडलभ’ थियो । फिल्म सोँचेभन्दा धेरै राम्रो भयो । धेरैले मन पराइदिनुभयो । त्यसपछिमलाई झन् हौसला बढ्यो । केही समयपछि चलचित्र ‘भिलेन’ निर्देशन गरेँ । ‘भिलेन’ पनि सोँचेभन्दा धेरै राम्रो चल्यो । ‘भिलेन’ पछि मलाई धेरैले झन् हौसला दिनुभयो ।
चलचित्र र म्युजिक भिडियो कति वटा निर्देशन गर्नुभएको छ ?
— चलचित्र दुई वटा निर्देशन गरेँ । ती दुवै चलचित्र राम्रो बनेका छन् । नाम चलेका कलाकारले अभिनय गर्नुभएको छ । म्युजिक भिडियो तीन सयभन्दा धेरै निर्देशन गरेको छु ।
फिल्म क्षेत्रमा किन लाग्नुभयो ?
— मेरो चाहना फिल्म निर्देशक बन्ने थियो । म्युजिक भिडियोको पार्ट मेरो दोस्रो कुरा हो । निर्देशक बन्नका लागि म्युजिक भिडियोले थोरै सहयोग गरेको छ । यसले पनि भोलिका दिनमा निर्देशनलाई सहयोग गर्छ भनेर म्युजिक भिडियो निर्देशन गरेको हुँ । म्युजिक भिडियोले फिल्म निर्देशनलाई सहयोग मिल्छ । चलचित्र र म्युजिक भिडियो निर्देशन गर्दा दिमाग लगाउने विषय उस्तै हो । चलचित्र लामो हुन्छ, धेरै विषय राख्न सकिन्छ । म्युजिक भिडियो छोटो हुन्छ । थोरै समयमा दर्शकले बुझ्ने गरेर सबै कुरा समेट्नु पर्छ ।
तपाईको पढाइ र काम गराइमा तालमेल छैन त ?
— मेरो पढाइ बुबाआमाको इच्छाअनुसार भयो । मेरो इच्छा फिल्म निर्देशनतिर थियो । त्यस कारणले तालमेल नमिलेको मात्रै हो । त्यसो त फिल्म क्षेत्र एउटा आफैँ विश्वविद्यालय हो । यो प्राविधिक क्षेत्र हो । फिल्म निर्देशन पढाइ मात्रै होइन, प्रत्यक्ष ज्ञान पनि चाहिन्छ । त्यो ज्ञान मैले फिल्ममा मुख्य सहायक निर्देशक भएर लामो समयसम्म सिकेको छु । मेरो पालामा फिल्मको निर्देशन नै पढौँ भन्ने थिएन । विदेशमा गएर पढ्ने कुरा पनि भएन । त्यस बेला निर्देशन पढ्ने स्कुल भएको भए पढ्ने थिएँ । यहाँ पढाइभन्दा काम गराइ बढी चाहिन्छ । यहाँ प्राक्टिकल बढी चाहिन्छ । म प्राक्टिलमा पोख्त भएको कारणले अहिले आएर फिल्म निर्देशकको विषय नपढेको मात्रै हो ।
नेपाली चलचित्रहरू राम्रा छन् ? राम्रा बनेका छन् त ?
— अहिलेका नेपाली चलचित्रहरू धेरै राम्रा र उत्कृष्ट बनेका छन् । पहिला ‘डिभी’ थियो । पहिला चलचित्र ‘क्यान’मा खिचिन्थ्यो । अहिले चलचित्र बनाउन डिजिटल प्रविधि आएको छ । मन नपरेको कुरा डिलिट गरेर मजाले अर्को सिन खिच्न सकिन्छ । अहिले धेरै राम्रो भएको छ ।
नेपाली चलचित्रले कमाइ कस्तो गर्छन् ?चलचित्रको व्यापार कस्तो छ ?
— नेपाली चलचित्रको व्यापार पनि १४÷१५ करोडसम्म हुने गरेको छ । नेपाली चलचित्रले यति धेरै पैसा कमाउने दिन आइसक्यो । चलचित्रको बजार राम्रो छ । पहिला ५६–५७ लाख कमाउँदा पनि कति धेरै कमाइ गरेको भन्ने समय थियो । अहिले धेरै ठूलो बजार भइसकेको छ ।
चलचित्र बनाउने प्रविधि नेपालमा कस्तो छ ?
— पहिलाको भन्दा धेरै राम्रो प्रविधि नेपालमा आइसकेको छ । चलचित्र बनाउन पहिला जस्तो झन्झटिलो छैन । डिजिटल प्रविधि आइसक्यो । चलचित्रको गुणस्तर पछिल्लो समय ह्वात्तै बढेको छ । दृष्य, साउन्ड, कलर, अभिनय, गीत, संगीत सबै राम्रा हुने गरेका छन् । नयाँ टेक्नोलोजी आएको छ । नयाँ क्यामराहरू आएका छन् । पहिला क्यान, डिभी, पाल भन्ने थियो । अहिले त्यो प्रविधि छैन । अहिलेको युग भनेको डिजिटल युगहो । ममोरीबाट मन परेको कुरा राख्यो । मन नपरेको कुरा डिलिट ग¥यो ।
तपाईलाई चलचित्रको प्राविधिक विषयमा ज्ञान छ ?
— निर्देशक भएपछि प्रविधिक विषयमा ज्ञान हुनु अनिवार्य नै हुन्छ । होइन भने चलचित्र निर्देशन गर्न कठिन हुन्छ ।
प्रविधिमा के विषयमा तपाईलाई अलिक धेरै ज्ञान छ ?
— क्यामराको बारेमा अधिकांश विषयमा जानकारी छ । ज्ञान छ । क्यामराको लेन्सका विषयमा थाहा छ । क्यामराबाट लिइने दृष्य र सम्पादनका विषयमा थाहा छ । अरु थुप्रै विषयमा जानकारी छ । निर्देशकका लागि यी विषय जान्नै पर्छ । यी विषय नजान्ने हो भने चलचित्र निर्देशन गर्न गाह्रो हुन सक्छ ।
क्यामरा चलाउन आउँछ ?
— क्यामरा चलाउन आउँदैन । तर, क्यामराको फ्रेमिङको बारेमा थाहा छ ।
चलचित्र निर्देशनमा लागेपछि पुरस्कार वा सम्मान पाउनु भएको छ कि छैन ?
— पाएको छु । धेरै ठाउँमा बोलाएर सम्मान पनि गर्नु भएको छ । राष्ट्रिय स्तरका अवार्डहरू पनि पाएको छु । नेपाली सेनाबाट पनि अवार्ड पाएको छु । गाउँ ठाउँमा हुने स–साना पुरस्कार र सम्मान पनि पाएको छु । मेरो कामको मूल्यांकन गरेर अवार्ड र सम्मान दिँदा खुसी लाग्छ । अझै केही गरौँ भन्ने हौसला जागेर आउँछ । रापती समाजको राष्ट्रयस्तरको अवार्ड पनि पाएको छु ।
चलचित्रमा लाग्नु हुन्छ कि यो क्षेत्रबाट पलायन हुनुहुन्छ ?
— चलचित्र निर्देशन नै मेरो पेसा हो । यो क्षेत्रलाई छाड्ने कुरै आउँदैन । बरु आगामी दिनमा कसरी राम्रो निर्देशक बनेर अझै राम्रा चलचित्र कसरी दिउँ भन्नेतिर लागेको छु ।
नयाँ चलचित्र बनाउने योजना छ कि छैन ?
— ‘जन्ते बाख्रो’ चलचित्र बनाउने योजना बनाएको छु । तयारीहरू पनि भइरहेको छ । यो चलचित्र हाँस्यप्रधान हुनेछ । स्क्रिप्टको लेबलमा छु । फाइनल गर्दै छु ।
एउटा चलचित्र बनाउन कति लाग्छ ?
— चलचित्र बनाउन अहिले त एक करोडभन्दा माथि नै खर्च हुन्छ । करोडभन्दा कम पैसामा चलचित्र नै बन्दैन ।
यति धेरै पैसा लगानी गरेर बन्ने चलचित्रको पैसा उठ्छ कि उठ्दैन ?
— अहिले त चलचित्र राम्रोसँग बनाउने हो भने पैसा उठ्छ । चलचित्र हलबाट पनि राम्रो पैसा उठ्छ । युट्युबको बजार पनि छ । पहिलाजस्तो चलचित्र डुब्ने सम्भावना निकै कम हुन्छ । हिन्दी फिल्मभन्दा नेपाली दर्शकहरू नेपाली चलचित्रमा आकर्षित हुने गरेका छन् ।
चलचित्रतिर लाग्न तपाईलाई प्रेरणा कसरी मिल्यो ?
— म बच्चैदेखि नृत्य गर्न जानेको थिएँ । नाच्दानाच्दै चलचित्र क्षेत्रमा लागेको हुँ । राम्रो निर्देशक बन्ने योजनाका साथ चलचित्रमा लागेँ । घरपरिवारमा पनि मलाई साथ थियो ।
तपाईको उमेर पनि सानो रहेछ । चलचित्रको निर्देशन गर्नु हुन्छ । कलाकारहरू तपाईभन्दा उमेर र अनुभवले ठूलो हाइटका हुन्छन् । काम कसरी गर्नु हुन्छ ?
— म उमेरले मात्रै सानो । ज्ञान र सीप तथा अनुभवले सानो छैन । सुरुमा नपत्याउँने । काम हेरेपछि उहाँहरू पनि चकित हुने भएको छ । यस्तो फुच्चेले पनि राम्रो काम गर्ने भन्ने हुन्छ ।
चलचित्रमा कलाकार क–कसलाई अभिनय गराउनु भयो ?
— नाम चलेका सिनियर कलाकार लगभग सबैसँग काम गरेको छु । फिल्म र म्युजिक भिडियोमा खेलाएको छु । निर्देशन गरेको छु । महानायक राजेश हमाल, नायिका करिष्मा मानन्धर, नायक निखिल उप्रेती, नायिका शिल्पा पोखरेल, नायिका निशा अधिकारी, नायिक ध्रुव कोइराला अधिकांश कलाकारसँग काम गरिसकेको छु ।
ती ठूला कलाकारले निर्देशनका बेला केही भन्नु भएको छ ?
— उहाँहरूले केही भन्नु हुन्न । सुरुमा आश्चर्यका साथ हेर्नु हुन्छ । काम गर्दै जाँदा मेरो काम देखेर खुसी हुनुहुन्छ । धन्यावाद दिनु हुन्छ । मैले काम गर्ने भनेको प्रोफेसनल रूपमा हो । लप्पनछप्पन जानेको छैन । सबैले माया गर्नुहुन्छ । सानैमा पनि राम्रो प्रगति गरेछ, भन्नुहुन्छ् ।
नेपालमा कस्ता खालका चलचित्र चल्छन् ?
— टिपिकल खालका चलचित्र चल्छन् । हाँस्य प्रधान चलचित्र चल्छन् । मैले नयाँ चलचित्र पनि त्यस्तै खालको बनाउँदै छु । दर्शकको भावना बुझेर चलचित्र बनाउनेछु । फरक स्वादको ‘जन्ते बाख्रो’ बनाउने सोचमा छु ।
हिन्दी र नेपाली चलचित्रमा फरक हुन्छ कि हुँदैन ?
— धेरै फरक हुन्छ । हिन्दी चलचित्रको मेकिङदेखि लिएर अन्य विविध विषयहरू राम्रो हुन्छ । हिन्दी चलचित्रको पब्लिसिटीदेखि खर्च धेरै गरिएको हुन्छ । त्यो कुरा नेपालमा छैन । भारतको एउटा प्रान्तको जति नेपालमा दर्शक पनि हुँदैनन् । नेपालमा थोरै दर्शक हुनुहुन्छ । हिन्दीको लगानी पनि धेरै हुन्छ । दर्शक पनि धेरै हुन्छन् । हाम्रो दर्शक र लगानी पनि थोरै छन् । सोहीअनुसार चलचित्र बन्ने हो ।
चलचित्र कथा र प्रविधिक विषयमा तालमेल मिलेको हुँदैन भन्छन् ?
— त्यस्तो हुँदैन । सबैले मेहनत गरेर चलचित्र बनाएका हुन्छन् । कुनै–कुनै चलचित्रमा तालमेल नमिलेको हुन सक्ला । सकेसम्म सबै विषय तालमेल मिलेकै हुन्छ । पछिल्लो समय धेरै लगानी गरेर चलचित्र बनेका छन् । सबैलाई आफ्नो लगानी नडुबोस् भन्ने हुन्छ । आफ्नो सिर्जनाको माया सबैलाई हुन्छ ।