काठमाडाैं - मधेस प्रदेशमा घुस लिएको आरोपमा हप्ता दिनभित्र ३ जना प्रधानाध्यापक पक्राउ परेका छन् ।
विश्वेश्वरप्रसाद कोइराला आदर्श मावि जोकाहा रौतहटका राकेश श्रेष्ठ १२ जेठमा , नेपाल विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर , वीरगंज पर्साका बलराम श्रेष्ठ १८ जेठमा र श्रीमावी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल १९ जेठमा पक्राउ परेका हुन् ।
पक्राउ परेका रौतहटका राकेश श्रेष्ठ र महोत्तरीका रामदिनेश मण्डल क्रमशः ५० हजार र ३ लाख रूपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको थियो भने पर्साका बलराम श्रेष्ठलाई विद्यालयको भौतिक पूर्वाधार निर्माणमा ३० लाख भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरिएको हो ।
महोत्तरीको एकडारा गाउँपालिका १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रअ रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवानलाई ५० हजार घुसको रकमसहित पक्राउ गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल र बर्दिबासको संयुक्त टोलीले दुवै जनालाई जलेश्वर नगरपालिका २ स्थित मामाज किचेन होटेलबाट पक्राउ गरेको हो।विद्यालयमा भवन निर्माण प्रयोजनको भुक्तानीको लागि निर्माण व्यवसायीबाट ५० हजार रूपैयाँ घुस लिइरहेको बखत दुवैजनालाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९ १७:१३