सरकार सञ्चालनको तहमा पुग्ने व्यक्ति÷व्यक्तित्वहरू इमानदार नहुँदा मुलुक र जनताको भविष्य अन्धकारमय हुन पुगेको छ । सरकारमा पुग्नेबित्तिकै सरकारी ढुकुटी स्वहा पार्नै पर्ने, सरकारी निकायमा कार्यकर्ता, आफ्ना र आफन्तलाई जागीर खुवाउनै पर्ने गरी नेताहरूले काम गरिरहेका छन् । यसो हुँदा सरकारी उद्योग, कलकारखाना र संस्थानहरूमा कार्मचारीको मेला नै लाग्ने गरेको छ । ती निकायमा कामभन्दा पनि कर्मचारी बढी भएपछि खर्च बढ्छ, खर्च बढेपछि उद्योग, कलकारखाना र संस्थानहरू बन्द हुने अवस्थामा पुगेका छन् । पञ्चायती शासनभरमा नाफामा सञ्चालन भइरहेको यस्ता संस्थाहरू बहुदल आउनेबित्तिकै सबै बन्द हुने अवस्थामा पुगेका थिए । प्रायः संस्थानहरूलाई नेताहरूले कार्यकर्ता भर्तीकेन्द्र बनाएपछि सबै बन्द छन् । बहुदलका नाममा नेताहरूको अदूरदर्शी नीतिका कारण आज सरकारी कलकारखना कि त बन्द छन् कि त बन्द हुने अवस्थामा छन् ।
सरकारको आक्रमणमा परिरहे पनि अहिलेसम्म मुलुकमा तीन वटा संस्थानहरू भने टिकिरहेका छन् । जसमा विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार संस्थान र नेपाल वायु सेवा निगम भने अहिलेसम्म जेनतेत चलिरहेका छन् । थाइल्यान्डको थाइ एयर र नेपाल वायु सेवा निगम एक वर्ष सुरु भएका वायु सेवा हुन् । थाइ एयरसँग आज दर्जनौँ विमान छ भने नेपाल वायु सेवासँग भने एउटा पनि चल्ने खालका विमान छैनन् । तालुकदार मन्त्रीहरूले निगममा कार्यकर्ता भर्ना गरेर निगम डुबाउने काम गरेका छन् । निगमलाई माथि उकास्नेभन्दा पनि यसलाई डुबाउने खेलमा तालुकदार मन्त्रीहरू नै लागेका थिए, आजका मन्त्रीहरूले पनि उहि पथको अंगीकार गरेका छन् । निगमलाई डुबाएर निजी क्षेत्रलाई जिम्मा दिनेसम्मका प्रपञ्च भएको छ । मुलुकसँग आफ्नै वायु सेवा हुनुपर्छ जस्ले गर्दा राष्ट्रपति, प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा उनीहरूले आफ्नै देशको सरकारी विमानको प्रयोग गर्दा मात्र इज्जत बढ्छ । विदेश जाँदा राष्ट्र र सरकार प्रमुखले निजी विमान प्रयोग गर्नुलाई उचित मानिँदैन ।
त्यसैले निगमलाई बचाउन तालुकदार मन्त्रीले अथक प्रयास गर्नुपर्छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आर्थिक मितव्ययिता, प्रणालीगत सुधार र उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन गरेर उत्साहवद्र्धक आर्थिक उपलब्धि प्राप्त गर्नेतर्फ सरकारले योजना बनाउनुपर्छ । निगममा प्रणालीगत सुधार, फजुल खर्च कटौती गरेर निगमलाई बचाउनैपर्छ । अहिले लामा गन्तव्यमा वाइड बडी जहाजको प्रयोग भइरहेको छ भने आन्तरिक उडानमा भने कमजोर देखिएको छ । आन्तरिक उडानका साना जहाज ग्राउन्डेड भएका छन् । सञ्चालन गर्न हुने भए मर्मत गरेर जहाजलाई उडाउनुपर्छ । अन्यथा जहाज व्यवस्थापनका लागि अन्य विकल्प पनि खोज्नुपर्छ । निगमले सेवा स्तरीकरण र व्यवस्थापकीय पक्षलाई खरो रूपमा उतार्नेतर्फ युद्धस्तरमा कसरत गर्नुपर्छ । जसरी भए पनि राष्ट्रिय ध्वजाबाहक जहाज र विमान मुलुकलमा अनन्तकालसम्म चल्नुपर्छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६ ०८:३५