काठमाडौं- सिन्धुपाल्चोकबाट उपचारका लागि काठमाडौं आएका एक वृद्ध सम्पर्कविहीन भएका छन् । भोटेकोशी गाउँपालिका-४ नारायणस्थानका ७५ वर्षीय सानु शेर्पा मंगलबार दिउँसो २ बजेदेखि सम्पर्कविहीन भएका हुन् ।
सानुकै टोलवासी फुर्पा शेर्पाका अनुसार पेप्सीकोलास्थित हरहरा महादेव चोकबाट बेपत्ता भएका सानुलाई अहिलेसम्म फेला पार्न सकिएको छैन । उपचारका लागि एक हप्ताअघि मात्र काठमाडौं आएका सानु पेप्सीकोलास्थित भाञ्जीको घरमा बस्दै आएका थिए । मंगलबार (जेठ २४) दिउँसो २ बजे उनी एक्लै घरको गेट खोलेर बाहिर निस्केको सिसिटिभी फुटेजमा देखिएको फुर्पाले बताए ।
‘पेप्सीकोलाको हरहरा महादेव चोकमा रहेको भाञ्जीको घरबाट उहाँ बाहिर निस्किनुभएको सिसिटिभी फुटेजमा देखिन्छ । त्यहाँबाट कता हिँडे अहिलेसम्म पत्ता लागेको छैन,’ फुर्पाले भने ।
उनका अनुसार उपचारका लागि आएका सानुको फोक्सोमा खराबी भएको रिपोर्ट आएपछि औषधि खाइरहेका थिए । श्रीमतीसमेत सँगै रहेको भए पनि उनी एक्लै घरबाट निस्किएकाले घर पत्ता लगाउन नसकी हराएको हुनसक्ने आशंका गरिएको फुर्पाले बताए ।
‘हामीले पेप्सीकोलास्थित प्रहरी बिटलाई पनि जानकारी गराइसकेका छौं, तर अहिलेसम्म कुनै जानकारी आएको छैन,’ उनले भने ।
वृद्धका आफन्तले उनको खोजीमा सहयोगको अपिल गरेका छन् । बेपत्ता भएका वृद्ध सानु शेर्पालाई कतै देखे प्रहरीसमक्ष बुझाइदिन वा सीधै ९८५१००६२१४ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९ २०:१८