काठमाडौं- आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत अन्तिम खेलमा आयोजक मलेसियालाई नेपालले २५ रनले हराएको छ । युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर मात्र ६१ रन बताएको थियो।
मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन जोडदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । बलिङतर्फ नेपालकी कृतिका मरासिनीले २ र मनिषा कुमारी उपाध्यायले १ विकेट लिइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो । नेपालका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रनको योगदान गरिन् । यस्तै आश्मा पुलामी मगरले २६ रन जोडिन् ।
बलिङतर्फ मलेसियाका लागि नुर सामेदले दुई विकेट लिइन् । त्यस्तै इल्सा होन्टेरले एक विकेट हात पारिन् । जितसँगै नेपालले छनोटमा सुखद अन्त्य गरेको छ । नेपालले छनोटमा तेस्रो स्थान हासिल गरेको छ । नेपालले ५ खेलमा ३ जित र २ हार व्यहोर्यो । नेपालले ५ खेलमा ६ अंक जोड्यो ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । चौंथो खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो । थाइल्याण्ड र युएईबीच आज हुने खेलले विश्वकपमा पुग्ने टोलीको तय हुनेछ ।
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९ ११:०४