काठमाडौंलाई सधैं पिरोलिरहने एउटा मुद्दा हो– फोहोर व्यवस्थापन । यो हरेक समय दोहोरिन्छ, जस्तो अचेल पनि दोहोरिरहेको छ । फोहोर काठमाडौंका सडक, गल्ली–गल्लीमा थुप्रिएको छ । फोहोरको थुप्रो दिनैपिच्छे अग्लिँदै जान थालेको छ । फोहोरका कारण काठमाडौं दुर्गन्धित मात्र भएको छैन संक्रमणको जोखिम पनि उच्च बन्दै गएको छ ।
काठमाडौंको फोहोर व्यवस्थान गर्ने भनिएको ल्याण्डफिल्ड साइड, नुवाकोटको सिसडोल र बञ्चरेडाँडामा दिनैपच्छिे तनाव हुन थालेको छ । काठमाडौंको फोहोर व्यवस्थापन गर्न सोमबार सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका धादिङ तथा ककनी गाउ“पालिका नुवाकोटका प्रतिनिधिबीच सहमति भयो । जसअनुसार मंगलबार बिहानैदेखि काठमाडौंका सडकमा थुप्रिएको फोहोर उठ्न थाल्यो । बिहानै फोहोर बोकेका गाडी नुवाकोटको सिसडोल र बञ्चरेडाँडा पुगे ।
तर, स्थानीयबासिन्दाले स्थानीय तहका जनप्रतिनिधिसँग गरेको सहमति नमान्ने भन्दै फोहोर फाल्न दिएनन् । त्यसपछि प्रहरीले बल प्रयोग गर्यो । आधा दर्जनभन्दा बढी स्थानीयलाई नियन्त्रणमा लियो । मंगलबार प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर विसर्जन गरियो ।बुधबार पनि उसैगरी तनावग्रस्त बन्यो बञ्चरेडाँडा । अघिल्लो दिनभन्दा प्रहरीको संख्या पनि दोब्बर पारियो । तर, स्थिति मंगलबारको भन्दा झन् तनावग्रस्त बन्यो । आफूहरूका माग सम्बोधन नभएकाले फोहोर फाल्न नदिने भन्दै स्थानीयहरूले अवरोध गरे । त्यसक्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भयो ।
स्थानीयसँगको झडपका क्रममा प्रहरी सहायक निरीक्षक (असई)सहित तीन जना प्रहरी कर्मचारी घाइते भए । प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड अश्रुग्यास र तीन राउण्ड हवाई फायर गर्यो । स्थानीयबासिन्दाले ढुंगामुढा गर्दा १२ वटा गाडीमा क्षति पुगेको प्रहरी बताउँछ । प्रहरीले बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेतीसहित चार जनालाई नियन्त्रणमा लिएको छ । स्थानीयले अवरोध गरेपछि फोहोर बोकेका टिपर फोहोरसहित काठमाडौं फिर्ता भएका छन् ।
फोहोरको यो कहर नयाँ होइन । त्यसकारण पनि बरु अब नयाँ विकल्प सोचिनुपर्छ । अर्थात्, यसको दीर्घकालीन समाधानबारे सोच्नुपर्छ ।
एक ठाउँ उत्पादन हुने फोहोरले अर्का ठाउँका नागरिकलाई किन सास्ती दिने ? किन रोगको भुंग्रोमा पार्ने ? सिसडोल र बञ्चरेडाँडाका नागरिकले फोहोर फाल्न दिँदैनौं भन्न पाउँछन् । यो उनीहरूको अधिकार हो । गर्दै नगरेको गल्तीको सजाय उनीहरूलाई किन दिने ? तर, काठमाडौंमा ठाउँ अभाव भएकाले सिसडोल र बञ्चरेडाँडाका नागरिकको स्वास्थ्यलगायत कुनै पनि कुरामा प्रतिकूल असर नपर्नेगरी, उनीहरूकै सहमतिमा हाललाई अल्पकालीन रूपमा फोहोर व्यवस्थापन गर्नसक्ने विकल्प भने सरकारसँग छ ।
तर, सबभन्दा उपयुक्त उपाय कुनै प्रविधिको प्रयोग गरेर काठमाडौं उपत्यकाबासीको स्वास्थ्य र यहाँको वातारणमासमेत कुनै नकारात्मक असर नपर्नेगरी काठमाडौंमै फोहोर बिसर्जन गर्ने वातावरण मिलाउनुपर्छ । तत्कालका लागि भने ल्याण्डफिल्ड साइटका नागरिकको सार्वजनिक सरोकारलाई ध्यान दिएर, उनीहरूका कुरा सुनेर, कुनै पनि प्रतिकूल असर नपर्नेगरी फोहोर व्यवस्थापनको वातावरण बनाउन सकिन्छ । यसका लागि काठमाडौं महानगरपालिका र सरकारले ध्यान देओस् ।
महानगरबासीले पनि आफ्नो कोठा, घर, कार्यालय, व्यवसाय कुनै पनि ठाउँबाट निस्किने फोहोरलाई कुहिने र नकुहिनेगरी दुई छुट्टाछुट्टै प्याकिङ गरेको खण्डमा फोहोर व्यवस्थापनमा सहयोग पुग्नेछ । फोहोर व्यवस्थापन नहुँदा त्यसको प्रत्यक्ष असर हाम्रो स्वास्थ्य र दैनिकीमा पर्ने भएकाले महानगरबासी यसमा सचेत बन्नैपर्छ । हाम्रो आनीबानीको सानो सुधारले फोहोर व्यवस्थापनमा ठूलो सहयोग हुनेछ ।
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९ ११:३१