प्रभाव संवाददाता
काठमाडौं– पछिल्लो समय बरिष्ठ ब्युटिसियन छबु कार्की वस्नेतको ब्यस्तता बढ्दो छ । भोजपुरको मर्याङडाँडा प्याउलीकी ब्युटिसियन छबुले व्यस्ततासँगै सौन्दर्य तथा शृँगारको क्षेत्रमा छुट्टै पहिचान बनाएकी छन् ।
हिजोआज उनी चलचित्र र म्युजिक भिडियोका लागि मेकअप आर्टिष्टका रूपमा समेत चर्चित छिन् । ब्युटिसियन पेसा रोजेकी उनी आफ्नो क्षमता, इच्छा र लक्ष्यलाई पूरा गर्नुपर्छ भन्ने सोचले एक दशकदेखि सक्रिय छिन् । सानैदेखि क्रियटिभ र एक्टिभ रहन रुचाउँने उनी भन्छिन्, ‘मलाई केही न केही गरिरहन मनपर्छ ।’
अमेरिकाको डालासस्थित एक ब्युटिपार्लरमा पाँच वर्ष काम गरेर फर्किएकी ब्युटिसियन छबुले आफ्नो क्षेत्रबाट पहिचान मात्र नभएर सम्मान र पुरस्कार पनि पाइसकेकी छन् । उनले भनिन्, ‘ब्युटिसियन पेसा अँगालेर राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थाबाट सम्मानहरू पनि पाइसकेकी छु ।’ ब्युटिसियन तथा समाजसेवाको क्षेत्रमा पु¥याएका योगदानको कदरस्वरूप उनले विभिन्न अवार्ड एवं सम्मान पाइसकेकी छन् । पछिल्लो समय अमेरिकाको अनुभवलाई उनले नेपालका बिपन्न वर्गका दिदीबहिनीहरूमाझ बाँड्दै आएकी छन् । जसका कारण हातमा कुनै सिप नभएकाले आफ्नै ब्युटिपार्लर खोलेर आत्मनिर्भर तथा आर्थिकरूपले सबल बन्दै आएको उनको भनाइ छ ।
ब्युटिसियन छबु विभिन्न संघसंस्थाले आयोजना गर्ने सौन्दर्य प्रतियोगिताहरूमा निर्णायकको भूमिका समेत निभाउँदै आएकी छन् । साथै उनले ब्युटिसियनको प्रशिक्षण पनि दिँदै आएकी सुनाइन् ।
उनी सौन्दर्यप्रति निकै सचेत छिन् । उनी भन्छिन्, ‘बजारमा सौन्दर्य प्रसाधनको कुनै कमी छैन । तर, बजारमा पाइने सबै सौन्दर्य प्रसाधन गुणात्मक नहुन सक्छ, जसको प्रयोगले अनुहार वा शरिरको अन्य भागमा नकारात्मक असर पर्ने हुँदा मेकअप सामाग्री किन्दा ध्यान दिनुपर्छ ।’