नयाँ दिल्ली- भारतमा फेरि कोरोना संक्रमण फैलिने संकेतहरू देखिएका छन् । भारतमा केही दिनयता लगातार कोरोना संक्रमित भेटिने क्रम बढ्दै गएको छ ।
बिहीबार रातिसम्मको परीक्षण नतिजाअनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५८४ जना नयाँ संक्रमित थपिएका हुन् । बुधबार पनि ७ हजार २४० जनामा संक्रमण पाइएको थियो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणकै कारण २४ जनाको निधन भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार भने ८ जनाको मात्र निधन भएको थियो । एक हप्ताभित्र भारतमा कोरोना संक्रमित दोब्बर बढेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
अहिले भारतको महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । बिहीबार भेटिएको पोजिटिभ केसमध्ये महाराष्ट्र राज्यका मात्र २ हजार ८१५ जना थिए ।
महाराष्ट्रपछि केरला राज्यमा पनि संक्रमित बढी भेटिएका छन् । केरला राज्यमा पनि बिहीबार २ हजार १९३ जना कोरोना संक्रमित भेटिएका छन् । भारतको राजधानी दिल्लीमा पनि क्रमशः कोरोनाको लहर फैलिरहेको छ । त्यहाँ पनि बिहीबार ६२२ नयाँ संक्रमित थपिएका छन् ।
भारतमा संक्रमण पुनः बढ्न थाले पनि कोरोनाको चौंथो लहर आउने संभावना भने कम रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् । कुनै नयाँ भेरियन्ट नआएको खण्डमा चौंथो लहरको सम्भावना नरहेको भारतीय चिकित्सक डा।रोमेल टिक्कुले बताएका छन् ।
भारतमा कोरोना संक्रमण बढ्दा त्यसको असर नेपालमा पनि पर्छ । अघिल्ला कोरोना लहरका बेला भारतमा संक्रमण बढ्दै जाँदा नेपालमा पनि बढ्ने गरेको थियो ।
खुला सीमाना र आउजाउ बढी हुने भएकाले भारतमा संक्रमण बढेपछि नेपालमा पनि सावधानी अपनाउनु पर्ने अघिल्लो घटनाहरूले देखाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९ १३:१४