काठमाडौं- शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी छन् ।
शुक्रबार शहरी विकास मन्त्रालयमा बञ्चरे डाँडावासीहरुसँग भएको छलफलमा मन्त्री झाँक्रीले ठूला ल्याण्डफिल्ड साईटहरु बन्न समय लाग्ने भएकाले विकल्पको रुपमा स–साना फोहोर, ढल व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी हुन् ।
मन्त्री झाँक्रीले शुक्रबारबाटै काठमाडौं उपत्यकाको फोहोर उठाउन सम्बन्धित निकायहरूलाई अनुरोध गरिन् । ‘हामीले ठूला ट्रिटमेण्ट प्लान्ट, ठूला प्रोजेक्ट ठूला ल्याण्डफिल्ड साइटको गफ गर्यौं अहिलेसम्म ।
तर ती सक्सेस भएनन् । त्यसैले ठूलो ल्याण्डफिल्ड साइटभन्दा किन्ने, बिक्री गर्ने कानून, कार्यविधि, मेकानिज्म बनाउनुपर्छ’, झाँक्रीको भनाइ छ ।
सिसडोलवासीसँग शहरी विकासमन्त्री, प्रधानमन्त्री कार्यालयका सचिव लगायत अन्य मन्त्रालयका सचिव, काठमाडौं, ललितपुर महानगरका मेयर ककनी गाउँपालिकाका अध्यक्ष, धुनीबेंसी नगरपालिकाका प्रमुख र सम्बन्धित जिल्लाका जनप्रतिनिधिहरूबीच भएको छलफलमा फोहोर उठाउने सहमति भएको छ ।
छलफलमा मन्त्री झाँक्रीले तत्कालको समस्या समाधान गर्न सम्झौता गर्ने र त्यसपछि फर्किएर नजाने प्रवृत्तिका कारण समस्या सिर्जना भएको बताइन् । उनले सबै पक्षसँग बसेर छलफल गरिएकोले अब फाहोर नउठ्ने कुरा नरहेको तर सरकारले बञ्चरेडाँडा र सिसडोलवासीको माग पूरा गरेर मात्रै अघि बढ्ने विश्वास दिलाइन् ।
मन्त्री झाँक्रीले यसअघि धेरै सम्झौता र कागज गरिसकेको उल्लेख गर्दै अब कागज भन्दापनि काममा विश्वास गर्न आग्रह गरिन् । उनले सिसडोलमा गरेको गल्ती बञ्चरे डाँडामा नदोहोर्याउने भन्दै फागुन २६ को कार्यदिशाअनुसार नै फोहोर व्यवस्थापन गर्ने बताइन् । काठमाडौंको फोहोर व्यवस्थापनका लागि स्थानीयवासीसँग सरकारले शुक्रबार राति १८ बुँदे सहमति गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९ १४:२९