काठमाडौं — कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालको पहिलो घरेलु खेल दशरथ रंगशालामा नहुने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता समितिका प्रतिनिधि देङ् सिओ लोङले रंगशालाको निरीक्षणपछि फिफा र एएफसीले दशरथ रंगशालालाई अयोग्य ठहर गर्दै एन्फालाई खेल स्थल परिवर्तन गर्ने निर्देशन दिएको थियो ।
एएफसीको उक्त निर्देशनपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै कुवेतसँग खेल दशरथ रंगशालामा नहुने जनाएको हो । नेपाल र कुवेतबीचको खेल मंसिर ३ गते दशरथ रंगशालामा हुने तय थियो । तर, पुनस्निर्माण भईरहेको दशरथ रंगशाला अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसार तय नहुँदा नेपाल र कुवेतको खेल नहुने भएको हो ।
अब नेपाल र कुवेतबीचको खेलका लागि न्युट्रल भेन्यु खोजिने एन्फाले जनाएको छ । एन्फाले भुटानको चाङ्लिमिथाङमा गराउने प्रस्ताव फिफा र एएफसीलाई गरेको छ । सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रूपमा समेत हेरिएको विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ ।
छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।
यस अघि कुवेतसँग अवे खेलमा नेपाल ७–० ले ले पराजित भएको थियो भने दोस्रो खेलमा चाईनिज ताईपेलाई २–० गोल अन्तरले जित हात पार्न सफल भएको थियो । यस्तै तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।