काठमाडौं- थापागाउँस्थित मण्डला नाटक घरमा लिम्बू समुदायको विवाह संस्कार झल्काउने ‘चोरको स्वर’ नामक नाटक मञ्चन भइरहेको छ । आर्टमाण्डु नेपाल प्रालिद्धारा प्रस्तुत गरिएको यस नाटकको कथालाई नवीन चौहानले लेखेका हुन् ।
नाटकलाई अनिल सुब्बा र अन्वेषण राईले सयुक्त रुपमा निर्देशन गरेका छन्। यस नाटकमा लिम्बु समुदायमा प्रचलित भागी विवाह गर्ने परम्परालाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।
केटाले केटी भगाइसकेपछि ‘हजुरहरूको छोरी खुसीसाथ राखेको छ’ भनी केटा पक्षका भद्र भलाद्मीहरू विशेष रीतसहित जानकारी दिन आउने सांस्कृतिक प्रचलनलाई ‘चोरको स्वर’मा जीवन्तरुपमा प्रस्तुत गरिएको छ ।
माइती पक्षले रीत अर्थात् चोरको स्वर स्वीकार गरिसकेपछि लिम्बू संस्कार र रीतिरिवाजअनुसार विवाहको प्रसङ्ग अघि बढ्छ । उत्कृष्ट निर्देशकीय कला र कलाकारहरूको दम्दार अभिनयले नाटकलाई जीवन्त बनाएको छ ।
नाटकमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापा मगर, वेदना राई, सुरज तमू, प्रतिना राई, रमिता राई, प्रयास बान्तवा राई, रेश्मा लिम्बू, सीता राई, नर्सिस लिङ्देन, दिवस पयाङ्गू, उदय लिम्बू, प्रवीन मगर, नुशा लिङ्देन, सुनिल तामाङलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
तस्विर: मण्डला फेसबुक पेज बाट
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९ ११:१०