म्याग्दी- गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माणले तीव्रता पाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणलाई गति प्रदान गरेको हो ।
सडक डिभिजन कार्यालयका अनुसार मुस्ताङ र दुवैतर्फबाट क्रमागत योजनाको रुपमा पछिल्लो पाँच वर्षयता सडक निर्माण भइरहेको छ । डिभिजनका सवइञ्जिनियर टोपबहादुर थापाले चालु आर्थिक वर्ष २०७८र७९ मा पनि प्रतिस्पर्धाबाट छनोट भएको निर्माण कम्पनीले डोल्पा जोड्ने सडक निर्माण थालेको जानकारी दिए ।
‘एक्लेभट्टिदेखि मुस्ताङको अन्तिम मानवबस्ती साङ्ता हुँदै ४० किलोमिटर मार्ग खोलिसकेको छ’, उनले भने, ‘यसपाली एक लाख ८७ हजार घनमिटर कटिङ र तीन हजार ५१० घनमिटर ग्याबियन पर्खाल लगाउने थालिएको छ ।’ विसं २०७८ चैत १७ गते रु चार करोड ६४ लाख ८२ हजार २६७ मा जागृति–कुन्सालीङ जेभीसँग ठेक्का सम्झौता भएको थियो । विसं २०८० असोज २० गतेसम्म सम्झौताको म्याद छ । निर्माण कम्पनीका प्रतिनिधि जीवन रोकायाले भौगोलिक रुपमा विकट र दुर्गम तथा हिमपात हुने भएकाले यही बर्खायाममा सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिएको बताए ।
दुई वटा एक्साभेटर (डोजर) ले अहिले सडकको मार्ग खन्ने काम गरिरहेका छन् । केही दिनमै ग्याबियन पर्खाल निर्माण गर्न थप मजदुर परिचालन गरिने प्रतिनिधि रोकायले बताए। समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढीको उचाइमा सडक निर्माण भइरहेको छ । मुस्ताङतर्फबाट डोल्पाको सिमाना याकखर्कसम्म सडक पु(याउन लागिएको हो । डोल्पातर्फबाट मुस्ताङको सिमाना नजिकसम्म सडक जोडिएको छ ।
एघार मिटर फराकिलो सडक निर्माण गर्न लागिएको हो । यो सडकलाई आर्थिक वर्ष २०७६र०७७ मा रु ११ करोड, २०७५र०७६ मा रु चार करोड बजेट विनियोजन भएको थियो । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने बताए । हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन सक्नेछन् । घोडा, खच्चर, याक र चौरीमा बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हट्ने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९ १०:५०