काठमाडौं- नेकपा एमालेका सांसद विशाल भट्टराईले खेतीको मुख्य सिजनमा रासायनिक मलको अभाव देखिएको भन्दै मल कहाँबाट कहिलेसम्म ल्याउने भन्नेबारे प्रस्ट जवाफ दिन माग गरेका छन् ।
प्रतिनिधिसभामा स्थगन प्रस्ताव पेस गर्दै उनले खेतीको समय गुज्रिसकेपछि जति नै मल ल्याए पनि त्यसको अर्थ नरहने बताए । अहिले बजारमा रासायनिक मलको हाहाकार भएको भन्दै उनले धान खेतीको मुख्य सिजनमा मल उपलब्ध नहुँदा किसान मर्कामा परेको बताए ।
‘हाम्रो देशको मुख्य बाली धान, वर्षमा ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । १०र१२ लाख मेट्रिक टन धान अपुग हुन्छ,’ उनले भने, ‘जुन वर्ष ३० प्रतिशत आयात घटाउने भनेर बजेटमा कार्यक्रम ल्याइन्छ, त्यही वर्ष एक दाना पनि मल किसानले पाउँदैनन् । के आधारमा आयात घट्छ ?’
मल कहिले आउँछ, कहाँबाट ल्याउँछ भन्ने प्रस्ट जवाफ चाहेर नै आफूहरुले संसदको बैठकको कार्यसूचीलाई स्थगन गर्न प्रस्ताव राखेर यो विषयमा छलफलको माग गरेको उनले प्रस्ट पारे ।
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९ १२:१४