टीकापुर- कैलालीमा परिवार नियोजनका अस्थायी साधनको प्रयोगकर्ता बढ्न थालेका छन् । पहिले लुकिछिपी अस्थायी साधन लिन आउनेहरू आजभोलि भने खुलेरै स्वास्थ्य संस्था तथा स्वयम्सेविका कहाँ आउन थालेका हुन् ।
सन्तानको रहर पुगेका र सन्तानबीच जन्मान्तर राख्न अस्थायी साधनले सहयोग गरेको स्वयम्सेवीले बताए । सुरुसुरुमा अस्थायी साधनको प्रयोगबारे गलत बुझाइका कारण प्रयोग गर्न आनाकानी गर्नेहरू आजभोलि सहजै प्रयोग गर्न थालेका छन् ।
लम्की चुहाकी निर्मला रिमालको पहिलो सन्तान छोरी जन्मियो । उनलाई लगत्तै अर्को बच्चा जन्माउने रहर थिएन । ‘डराइडराइ अस्थायी साधन प्रयोग गर्न थालें, पहिलो सन्तान पाँच वर्ष पुगेपछि फेरि दोस्रो सन्तान जन्माए, अहिले स्वास्थ्यमा केही समस्या छैन’, निर्मलाले भनिन्, ‘अहिले पनि निर्धक्कसँग अस्थायी साधन प्रयोग गरिरहेकी छु ।’
कुनै समय लुकिलुकी परिवार नियोजनका अस्थायी साधन माग्न आउने महिला आजभोलि भने खुलेरै माग्न आउन थालेका छन् । पछिल्ला समय गाउँघरमा अस्थायी साधन प्रयोगकर्ता बढ्न थालेको महिला स्वास्थ्य स्वयमसेविका नन्दादेवी साउदले बताइन् ।
‘विगतमा हामीले परिवार नियोजनका साधनबारे कुरा गर्दा महिलाहरू लजाउँथे’, उनले भनिन्, ‘आजभोलि घरमै पनि धेरैले अस्थायी साधन माग्न आउने, सल्लाह लिन आउने गरेका छन् ।’
पहिले परिवार नियोजनका अस्थायी साधनको प्रयोगप्रति गलत बुझाइ रहे पनि पछिलो समय गाउँ घरमा यस्ता गलत धारण हट्दै गइरहेको र यसप्रति आकर्षण बढ्दो रहेको स्वास्थ्य स्वयम्सेविकाको अनुभव छ ।
टीकापुर नगरपालिकाका सिनियर अनमी हेमा ज्ञवालीले स्वास्थ्य संस्थामा परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या बढ्दै गएको बताइन् । ‘तथ्यांक हेर्दा प्रयोगकर्ता बढेका देखिन्छ । महिलाहरू प्रजनन स्वास्थ्यबारे सचेत बन्दै गएका छन्’, उनले भनिन् ।
‘हामीले गाउँ(गाउँमा गएर शिविर पनि सञ्चालन गरिरहेका छौं । यस वर्ष १२ वर्षसम्म पाठेघरमा राखिने आइयुसिडी सेवा लिने महिला ३५३ जना, इम्प्लान्ट सेवा एक हजार ६२० जना, डिपो एक हजार २०१,र पिल्स खाने महिला ८०१ बढेका छन् । त्यस्तै कण्डमको खपत कण्डम ७० हजारभन्दा बढी छ ।’
स्वास्थ्य संस्थाले लामो जन्मान्तर गर्न चाहने वा सन्तानको रहर पुगेकालाई लामो समयसम्म जन्मान्तर हुने साधन प्रयोगमा प्रोत्साहन गरिरहेका सिनियर अनमी ज्ञवालीले जानकारी दिइन ।
‘हामीले स्वास्थ्य शिविर लिएर जाँदा यो सेवा लिनेहरू अझ बढेका छन्’, उनले भनिन्, ‘यसका साथै पिल्स पनि तत्कालका लागि प्रयोग गर्न सल्लाह दिन्छौं, जस्तै छोटो समयमात्र साधन आवश्यक भएकालाई यसो गर्ने सल्लाह दिँदै आएका छौं ।’
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९ १४:१५