काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग-२ का लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलबार) आफ्नो दोस्रो खेलमा ओमानविरूद्ध प्रतिस्पर्धा गर्दैछ । पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे खेल सुरु हुनेछ ।
ओमानविरूद्ध मैदान उत्रिँदा नेपाली टिम पहिलो खेलमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ । आजको खेलसँगै ओमान विश्वकप क्रिकेट लिग(२ मा सबै खेल खेल्ने पहिलो टिम बन्ने ।
नेपालले भने हालसम्म १४ खेल खेलेको छ । नेपालले हालसम्म ओमानसँग पाँच खेल खेलेको छ । जसमध्ये ओमानले चार खेल जित्दा नेपालले एक खेलमा मात्र जित हासिल गरेको छ । यसअघि त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।
त्यस्तै दोस्रो खेलमा भने नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो । तालिकाको शीर्ष स्थानमा रहेको ओमानले ३५ खेलबाट ४४ अंक जोडेको छ । यसैगरी १४ खेलबाट १३ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । शृंखलामा नेपालले असार १ गते घरेलु टिम अमेरिकाविरूद्ध अन्तिम खेल खेल्नेछ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९ १२:२७