एजेन्सी- उत्तरी बुर्किना फासोमा संदिग्ध जिहादीहरूले गरेको आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको सरकारी प्रवक्ता लियोनेल बिल्गोले सोमबार जानकारी दिएको छ। जनवरीमा सैनिक विद्रोहपछिको यो सबैभन्दा रक्तपातपूर्ण झडपहरू मध्ये एक हो ।
शनिबार राति सेटेंगा गाउँमा हमला भएपछि सेनाले अहिलेसम्म ५० शव फेला पारेको बिल्गोले बताएको हो । मृतकको सङ्ख्या अझै बढ्न सक्ने पनि उनले बताए ।
पीडितहरूका आफन्तहरू सेतेंगा फर्केका र शवहरू लगेका हुन सक्ने बिल्गोले पत्रकार सम्मेलनमा भनेको छ । ईयूले आक्रमणमा १ सय भन्दा बढी नागरिक पीडित भएको हुनसक्ने बताएको छ । यसले घटनाको निन्दा गर्दै ‘यस हत्याको परिस्थितिमा प्रकाश पार्न’ आह्वान गरेको छ ।
यस क्षेत्रका मानवीय संस्थाहरूले गाँउबाट भागेर करिब तीन हजार मानिसलाई छिमेकी सहरमा राखिएको बताएका छन्।भूपरिवेष्ठित सहेल राज्य सात वर्ष पुरानो जिहादी विद्रोहको चपेटामा छ जसले दुई हजार भन्दा बढीको ज्यान लिइसकेको छ र करिब १९ लाख मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य पारेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९ १३:३९