काठमाडाैं - सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।
बैंकले नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकहरुले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरबाटै अनलाइनबाट डिम्याट खाता सकिने सुविधा ल्याएको छ ।
डिम्याट खाताका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई(EasyBank > Demat Services > Demat Account) सोझै “
https://onlinedemat.siddharthacapital.com/” मा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकहरुले डिम्याट खाताको लागि आवेदन दिनुका साथै मेरोशेयर र सीआरएनको लागि समेत आवेदन दिन सक्नेछन् ।
ग्राहकहरुले पेस गरेको आवेदनलाई सिद्धार्थ क्यापिटलले डिम्याट खाता खोल्ने प्रक्रिया अघि बढाई फ्रिज स्थितिमा डिम्याट खाता खोल्नेछ । डिम्याट खाता खोलीसके पश्चात् ग्राहकहरुलाई व्यक्तिगत प्रमाणीकरणको लागि परिचय खुल्ने कागजातहरू सहित ६० दिन भित्र नजिकको बैंक शाखा वा क्यापिटलमा उपस्थित हुन इमेल र एसएमएस मार्फत जानकारी गराइनेछ ।
बैंकका अनुसार ग्राहकहरुले परिचय खुल्ने कागजातहरू सहित स्वयं उपस्थित भए पश्चात बैंकले उक्त कागजातहरू प्रमाणीकरण गरी डिम्याट खाता सक्रिय गर्नेछ । साथै, ग्राहकहरुले मेरोशेयर र सीआरएनको लागि आवेदन दिएका छन् भने मेरो शेयर र सीआरएनको प्रक्रिया अघि बढाई आवश्यक विवरणहरु इमेलमार्फत प्रदान गरिने बैकले भनेको छ ।
बैंकले ल्याएको अनलाईन मार्फत डिम्याट खाताका लागि आवेदन दिन सकिने व्यवस्थाले ग्राहकहरु बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने र समयको बचत हुनुका साथै ग्राहकहरुलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यस व्यवस्थाले बैंकिङ प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बन्ने बैंकले जनाएको छ ।