एजेन्सी- पाकिस्तानका जनतालाई देशको अर्थतन्त्रको हितमा ‘कम चिया पिउन’ भनिएको छ ।
पाकिस्तानका वरिष्ठ मन्त्री एहसान इकबालले चियाका कपको संख्या घटाएर अर्थतन्त्रको हितमा जनताले योगदान दिन सक्ने बताएका छन् ।
उनले ‘चियाको कपको संख्या घटाउनु भनेको उच्च आयात बिल कटौती गर्नु हो’ भनेका छन् ।
पाकिस्तानमा विदेशी मुद्रा सञ्चितिको अवस्था निकै खराब छ । यस्तो अवस्थामा पाकिस्तानमा तत्काल प्रभावमा आउने गरी विदेशी कोष बढाउन दबाब छ ।
पाकिस्तान विश्वमा सबैभन्दा बढी चिया आयात गर्ने देश हो । पाकिस्तानले हरेक वर्ष करिब ६० करोड डलर मूल्यको चिया खरिद गर्छ ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार इकबालले जनतालाई अपील गर्दै भने, ‘म देशका जनतालाई चियाको चुस्कीबाट एक–दुई चुस्की कटौती गर्न भनिरहेको छु किनभने हामी ऋणमा चिया आयात गरिरहेका छौँ ।’
पाकिस्तानमा आर्थिक संकटसँग जुध्न सानो स्तरमा धेरै कदम चालिएको छ । बिजुलीको बचत हुने गरी राती पसल बन्द गर्न व्यापारीलाई सुझाव दिइएको छ ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९ ११:४२