काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजलमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरीजल घर भएका २६ वर्षीय सनम तामाङ छन् ।
मंगलबार दिउँसो आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर सनमको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
करेन्ट लागेर गम्भिर घाइते भएपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।
उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९ ११:४७